Dhulikhel Eco Banner new

पोखराको फूलबारी रिसोर्ट नेपाल बैंकले लिलामी गर्ने

7.31K
shares

काठमाडौं, ४ असार । नेपाल बैंकले पोखराको पाँचतारे डिलक्स होटल फूलबारी रिसोर्ट लिलामी गर्ने भएको छ ।

नेपाल बैंकले शुक्रवार सार्वजनिक सूचना प्रकाशित गर्दै आगामी साउन ४ गतेभित्र शिलबन्दी बोलपत्र पेश गर्न भनेको छ ।

उक्त रिसोर्टले २०५५ मा करीब १ अर्ब ३१ करोड रुपैयाँ कर्जा लिएको थियो। हाल त्यसको साँवा÷ ब्याजसहित करीब १८/ २० अर्ब पुगिसकेको छ। अहिले होटलसँग रहेको सम्पत्तिले पनि यस्तो कर्जा चुक्त्ता गर्न अवस्था नरहेको बैंकको भनाइ छ ।

बैंकले शुक्रवार मात्रै जग्गाजमीन र रिसोर्ट भवनलगायतको सम्पत्ति लिलाम गर्न सूचना प्रकाशित गरेको छ। पोखरा महानगरपालिका–१५ मा रहेको होटल तथा होटलले चर्चेको १२४ रोपनी जग्गा, सञ्चालक पीयुष बहादुर अमात्यको नाममा रहेको ६ रोपनी र गंगा अमात्यको नाममा रहेको ७ रोपनी ७ आना जग्गा लिलामी गरेर ऋण असुली गर्ने बैंकले तयारी गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंक र कर्मचारी सञ्चय कोषले रिसोर्टमा १ अर्ब ३१ करोड रूपैयाँ ऋण लगानी गरेका थिए। नेपाल बैंकले ६५ करोड र राष्ट्रिय वाणिज्य बैंकले ३५ करोड रुपैयाँको ऋण लगानी थियो भने बाँकी रकम सञ्चय कोषबाट जुटाइएको थियो। ४०० रोपनी जग्गामा फैलिएको रिसोर्टमा १६५ कोठा छन् ।