विदेशी विनिमय सञ्चितिमा २५.९ प्रतिशत वृद्धि, १७.६ महिनाको आयात धान्ने
वि.सं.२०८२ असार २४ मंगलवार १२:५४
shares

काठमाडौं, २४ असार । चालू आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म नेपालमा कुल विदेशी विनिमय सञ्चिति २५.९ प्रतिशतले वृद्धि भई २५ खर्ब ६९ अर्ब ३८ करोड पुगेको छ। अघिल्लो वर्ष २०८०/८१ को असार मसान्तसम्म यो सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रहेको थियो।
अमेरिकी डलरमा मूल्यांकन गर्दा सो अवधिमा सञ्चिति २२.२ प्रतिशतले बढेर १८ अर्ब ६५ करोड डलर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड डलर थियो।
नेपाल राष्ट्र बैंकमा मात्र रहेको सञ्चिति २३ प्रतिशतले वृद्धि भई २२ खर्ब ७४ अर्ब ४७ करोड पुगेको छ। अघिल्लो वर्ष यस संस्थासँग १८ खर्ब ४८ अर्ब ५५ करोड बराबरको सञ्चिति थियो। त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरू (राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति ५३.२ प्रतिशतले बढेर २ खर्ब ९४ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्ष १ खर्ब ९२ अर्ब ५५ करोड थियो।
नेपाल राष्ट्र बैंकका अनुसार, कुल सञ्चितिको २०.५ प्रतिशत हिस्सा भारतीय मुद्रामा रहेको छ। सञ्चिति पर्याप्त मात्रामा रहेको उल्लेख गर्दै राष्ट्र बैंकले हालको सञ्चिति आर्थिक स्थायित्वका दृष्टिले सन्तोषजनक रहेको बताएको छ।
बैंकका अनुसार, वर्तमान सञ्चितिले देशको १७.६ महिनाको वस्तु आयात तथा १४.७ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने क्षमता राख्दछ।
यसैगरी, २०८२ जेठ मसान्तसम्म विदेशी विनिमय सञ्चिति देशको कुल गार्हस्थ्य उत्पादन को ४२.१ प्रतिशत, कुल आयातको १२२.९ प्रतिशत र विस्तृत मुद्राप्रदायको ३४.१ प्रतिशत बराबर पुगेको छ। तुलनात्मक रूपमा २०८१ असार मसान्तमा यी अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए।

















