Dhulikhel Eco Banner new

शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्बले बचतमा, चालु खातामा समेत सुधार

1.57K
shares

काठमाडौं, २४ असार । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म नेपालको शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्ब ४४ करोडले बचतमा रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो वित्तीय विवरणअनुसार अघिल्लो वर्षको सोही अवधिमा यो बचत ४ खर्ब २५ अर्ब ६७ करोड रुपैयाँ थियो।

अमेरिकी डलरमा मूल्यांकन गर्दा, शोधनान्तर स्थिति ३ अर्ब ६२ करोड डलरले बचतमा छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब २० करोड डलर थियो।

समीक्षा अवधिमा चालु खाता ३ खर्ब ७ अर्ब ३१ करोडले बचतमा रहँदा अघिल्लो वर्ष सोही अवधिमा दुई खर्ब ३८ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा हेर्दा यो वर्ष चालु खातामा २ अर्ब २६ करोड डलर बचत देखिएको छ, जुन अघिल्लो वर्ष १ अर्ब ५१ करोड डलर थियो।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ८ अर्ब ९६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५ अर्ब ४६ करोड रुपैयाँ रहेको थियो ।

यसैगरी, समीक्षा अवधिमा ११ अर्ब ९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ८ अर्ब २४ करोड रहेको थियो ।