बैंकिङ कसूर मुद्दाका फरार दुई अभियुक्त पक्राउ
वि.सं.२०८२ साउन २ शुक्रवार १६:५४
shares

काठमाडौं, २ साउन । काठमाडौं प्रहरीले बैंकिङ कसूर मुद्दामा फरार रहेका दुई प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लमजुङ सुन्दरबजार नगरपालिका–१ घर भई हाल टोखा नगरपालिका–१० प्रगतिनगरमा बसोबास गर्दै आएका ३९ वर्षीय विजय मिश्र र बाग्लुङ नगरपालिका–१३ घर भई हाल काठमाडौं महानगरपालिका–२६ रानीवारीमा बस्ने २८ वर्षीय अमित पाठक छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले विजय मिश्रलाई काठमाडौं महानगरपालिका–१६ स्थित वनस्थलीबाट पक्राउ गरेको हो। उनलाई जिल्ला अदालत लमजुङको फैसलाले एक दिन कैद, दुई लाख रुपैयाँ जरिवाना र पीडित राहत कोषमा आठ हजार रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो।
त्यस्तै, सोही मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति प्राप्त अमित पाठकलाई तारकेश्वर नगरपालिका–८ जरंखुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका मध्ये विजय मिश्रलाई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय भोटेओडार, लमजुङ पठाइएको छ भने अमित पाठकलाई प्रहरी वृत्त बानेश्वर पठाइएको छ।


















