प्रतिकित्ता २३२ रुपैयाँमै सूर्यज्योति लाइफको शेयर बेच्दै एनआईसी एशिया बैंक
वि.सं.२०८२ साउन १४ बुधवार ११:१६
shares

काठमाडौं, १४ साउन । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले यी शेयरहरू प्रतिकित्ता न्यूनतम २३२ रुपैयाँ मूल्यमा बिक्री गर्ने तयारी गरेको हो।
आवेदन गर्दा कम्तीमा ५ हजार कित्ता र बढीमा १ लाख कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ। शेयर खरिद गर्न इच्छुकले साउन १४ गतेदेखि साउन २९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। बोलपत्र फाराम शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेडको थापाथली कार्यालय काठमाडौंमा उपलब्ध हुनेछ।
त्यस्तै, थापाथलीस्थित एनआईसी एशिया बैंकको रजिष्टर्ड कार्यालयसहित विराटनगर, मोरङ, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतका शाखाहरूमा पनि फाराम प्राप्त गर्न सकिनेछ। संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर पहिले नै खरीद प्रस्ताव गरिसकिएको हुनाले अब सबै इच्छुक लगानीकर्ताले आवेदन दिन सक्ने बैंकले जनाएको छ। सूर्यज्योति लाइफ इन्स्योरेन्सका संस्थापक शेयरहरू दोस्रो बजारमा प्रतिकित्ता २४५ रुपैयाँमा कारोबार भइरहेको छ।



















