सिप्रवी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव ठगी मुद्दामा प्रहरी नियन्त्रणमा
वि.सं.२०८२ साउन २१ बुधवार १४:३६
shares

काठमाडौं, २१ साउन । ब्रोकर नम्बर २२ सिप्रवी सेक्युरिटिज प्रालिका महाप्रबन्धक जयन्त श्रीवास्तवलाई प्रहरीले ठगीसम्बन्धी उजुरीका आधारमा नियन्त्रणमा लिएको छ।
लगानीकर्ता दीपेन्द्र अग्रवालकी श्रीमती मिता मुरारका अग्रवालले सिप्रवी सेक्युरिटिजका उच्च पदस्थ पदाधिकारीहरूमाथि ठगीको गम्भीर आरोप लगाउँदै जिल्ला प्रहरी वृत्त सिंहदरबारमा उजुरी दिएपछि प्रहरीले श्रीवास्तवलाई नियन्त्रणमा लिएको हो। उजुरीमा अध्यक्ष रविराज भट्टराई, महाप्रबन्धक जयन्त श्रीवास्तव, प्रबन्ध निर्देशक सतिष कुमार श्रेष्ठ र सिनियर अधिकृत कविराज न्यौपानेको नाम समेटिएको छ।
प्रहरीका अनुसार असार ९ गते नै चारै जनालाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गरिएको थियो। तर, तत्काल उनीहरूलाई पक्राउ गरिएको थिएन। साउन २० गते महाप्रबन्धक जयन्त श्रीवास्तव स्वयं प्रहरी कार्यालयमा उपस्थित भएपछि काठमाडौँ प्रहरी परिसरले उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका एक अधिकारीले श्रीवास्तव अनुसन्धानकै क्रममा सम्पर्कमा आएको र आवश्यक अनुसन्धान तथा कारबाहीका लागि उनलाई नियन्त्रणमा लिइएको जानकारी दिए।
मिता अग्रवालले दिएको उजुरीमा करिब ११ करोड ५५ लाख रुपैयाँ बराबरको ठगी गरिएको उल्लेख छ। सोही उजुरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको हो।
हाल प्रहरी श्रीवास्तवसँग सोधपुछ गरिरहेको छ भने अन्य अभियुक्तहरू अझै फरार छन्। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


















