Dhulikhel Eco Banner new

एक लाखभन्दा बढी दर्शकसहित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सम्पन्न

2.5K
shares

काठमाडौं, २८ साउन । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सोमबार साँझ विशेष समारोहका साथ सम्पन्न भएको छ। साउन २१ गतेदेखि सुरु भएको यो एक्स्पोमा एक लाखभन्दा बढी दर्शकको सहभागिता रहेको नाइमाले जनाएको छ।

एक्स्पोमा सरकारी तथा गैरसरकारी कर्मचारी, जनप्रतिनिधि, उद्योगपति, सञ्चारकर्मी, व्यवसायी, कूटनीतिक नियोगका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति देखिएको थियो। समापन समारोहमा नाइमाका अध्यक्ष रितु सिंह वैद्यले एक्स्पो अपेक्षा भन्दा धेरै सफल भएको बताउँदै सहभागी, प्रायोजक र साझेदारहरूप्रति आभार व्यक्त गरिन्।

“छ दिनको यो यात्राले नेपाली अटो उद्योगलाई नयाँ उचाइमा पुर्‍याएको छ,” अध्यक्ष वैद्यले भनिन्, “एक लाखभन्दा बढी दर्शक, सक्रिय स्टलहरु, जोशिलो सहभागिता र सहयोगले नेपालकै सबैभन्दा ठूलो अटो एक्स्पो बनाएको छ।”

कार्यकारी निर्देशक राजकुमार दुलालले एक्स्पोको पाँच दिन विभिन्न सिकाइका सत्रहरू सञ्चालन गरी, नाइमाको दीर्घकालीन प्रतिबद्धता प्रस्तुत गरिएको बताए। नेपाल पुलिस क्लबमा भारत र नेपालको विज्ञहरूको सहभागितामा आयोजित ती सत्रहरू सहभागीहरूका लागि निःशुल्क उपलब्ध थिए।

एक्स्पोको पहिलो दिन १५,०००, दोस्रो दिन १३,५००, तेस्रो दिन १९,५००, चौथो दिन २१,५००, पाँचौँ दिन २२,००० र अन्तिम दिन ७,८०० दर्शकले अवलोकन गरेका थिए। कुल ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूको सहभागिता रहेको यो एक्स्पोमा सवारीसाधन मात्र नभई मोबिलिटीसँग सम्बन्धित प्रविधि, नवप्रवर्तन र भविष्यका सम्भावनाहरु समेत प्रस्तुत गरिएको थियो।

नाइमाले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई नियमित रूपमा सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ।