Dhulikhel Eco Banner new

फेरि बढ्यो अण्डाको मूल्य, प्रति गोटा २३ रुपैयाँ

4.97K
shares

काठमाडौं, ११ भदौ । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको मूल्य पुनः वृद्धि गरेको छ। संघको कार्यकारिणी समितिको निर्णयअनुसार भोलि भदौ १२ गतेदेखि नयाँ मूल्य लागू हुने भएको हो।

नयाँ मूल्यअनुसार फार्मबाट होलसेल मूल्य ठूला अण्डाको प्रतिक्रेट ५४५ रुपैयाँ, मिडियम अण्डाको ५३० रुपैयाँ र साना अण्डाको प्रतिपेटी ३ हजार रुपैयाँ तोकिएको छ।

उपभोक्ताका लागि खुद्रा मूल्य पनि बढाइएको छ। नयाँ मूल्यअनुसार प्रति गोटा अण्डा २३ रुपैयाँ र २ गोटा अण्डाको मूल्य ४५ रुपैयाँ निर्धारण गरिएको छ।

यसअघि ४ भदौमा गरिएको मूल्य समायोजनमा ठूला अण्डाको मूल्य ५३० रुपैयाँ र मिडियम अण्डाको ५१५ रुपैयाँ तोकिएको थियो।

सङ्घले चितवनबाट अण्डा लोड भई देशभरका बिक्री डिपोहरूमा पुर्‍याउँदा भाडा, कार्टुन र क्रेट खर्च गरी प्रति पेटी १३० रुपैयाँ थप लाग्ने जानकारीसमेत दिएको छ।

सङ्घका अनुसार उत्पादन लागत, ढुवानी खर्च र बजारको माग आपूर्तिको सन्तुलनलाई ध्यानमा राखेर मूल्य समायोजन गरिएको हो। उपभोक्ताहरूले भने बारम्बार मूल्यवृद्धिका कारण दैनिक उपभोग्य वस्तुमा थप बोझ परेको गुनासो गरिरहेका छन्।