Dhulikhel Eco Banner new

सरकारद्वारा उखु किसानलाई ७५ करोड रुपैयाँ अनुदान निकासा

3.65K
shares

काठमाडौं, ११ भदौ । सरकारद्वारा उखु किसानहरूका लागि प्रोत्साहन तथा अनुदानस्वरूप ७५ करोड ४९ लाख ३८ हजार २४० रुपैयाँ निकासा गरिएको छ। अर्थ मन्त्रालयको निर्णयअनुसार उक्त रकम सम्बन्धित जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत किसानको बैंक खातामा भुक्तानी गरिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ।

यसअघि मन्त्रिपरिषद्को निर्णयले प्रति क्विन्टल ३५ रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरे पनि प्राविधिक कारण देखाउँदै अर्थ मन्त्रालयले रकम निकासामा ढिलाइ गरेको थियो। रकम नपाएको भन्दै उखु किसानहरूले काठमाडौं केन्द्रित आन्दोलन चर्काउँदै आएका थिए।

यसअघि किसानहरूले प्रति क्विन्टल ७० रुपैयाँ प्रोत्साहन रकम पाउँदै आएका थिए। यस्तै रकम उपलब्ध गराउन कृषि मन्त्रालयले प्रस्ताव गरे पनि देशको आर्थिक अवस्था र आवश्यकता हेरी रकम घटाएर ३५ रुपैयाँमा सीमित गरिएको हो।

उखु किसानहरूको दबाबपछि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मंगलबार उपमहानिर्देशक ललनकुमार सिंहको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन गरेका छन्।

त्यसै दिन सिंहदरवारस्थित कृषि मन्त्रालयमा किसान प्रतिनिधि र सरकारी अधिकारीहरूबीच वार्ता भएको थियो। सरकारी पक्षबाट कृषि विभागका उपमहानिर्देशक सिंह, उपसचिव लालकुमार श्रेष्ठ र मणिरत्न अर्याल, उद्योग मन्त्रालयका प्रतिनिधि तथा किसान तर्फबाट श्यामबाबु रायलगायतको सहभागिता रहेको थियो।

सरकारले रकम निकासा गरेसँगै आन्दोलनरत किसानहरूलाई राहत हुने विश्वास गरिएको छ भने मन्त्रालयले किसानहरूको गुनासो र माग सम्बोधनका लागि वार्ता र सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएको छ।