Dhulikhel Eco Banner new

उद्योग विभागद्वारा गहुँ आयातका लागि प्रस्ताव आह्वान

4.3K
shares

काठमाडौं, ११ भदौ । उद्योग विभागले भारत सरकारमार्फत भारतीय कम्पनी नेशनल कोअपरेटिभ एक्सपोर्ट्स लिमिटेड (एनसीएल) बाट ४० हजार मेट्रिक टन गहुँ आयात गर्नका लागि खाद्य तथा मैदा उद्योगहरूबाट प्रस्ताव आह्वान गरेको छ। विभागले मंगलबार एक सूचना प्रकाशित गर्दै इच्छुक उद्योगहरूलाई सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र प्रस्ताव पेश गर्न आह्वान गरेको हो।

विभागका अनुसार गहुँ आयात गर्ने सुनिश्चितता दिएका उद्योगहरूलाई मात्र कोटा वितरण गरिनेछ। यसअघि कोटा प्राप्त गरे तापनि हालसम्म गहुँ आयात नगरेका उद्योगहरूलाई भने कोटा दिइने छैन।

कोटा वितरण गर्दा सम्बन्धित उद्योगको स्वीकृत वार्षिक योजनाको २५ प्रतिशतभन्दा बढी नहुने गरी निर्धारण गरिने विभागले जनाएको छ। यदि सो समयावधिमा पर्याप्त प्रस्ताव नआएमा बाँकी कोटा मागअनुसार अन्य योग्य उद्योगहरूबीच बाँडफाँड गरिनेछ।

गहुँ आयातका लागि प्रस्ताव दिने उद्योगहरू प्रचलित कानुनअनुसार दर्ता भई सञ्चालनमा रहेको हुनुपर्नेछ। साथै, ती उद्योगको वार्षिक योजनामा कच्चा पदार्थको रूपमा गहुँ प्रयोग हुने स्पष्ट उल्लेख हुनुपर्नेछ र सोही योजनाअनुसार आयात गर्नुपर्नेछ।

भारतको एनसीएलसँगको सम्झौताअनुसार अग्रिम भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको हुँदा वित्तीय स्रोतको सुनिश्चितता भएको प्रमाणसमेत पेस गर्नुपर्नेछ।

कोटा प्राप्त भएपछि सम्बन्धित उद्योगले ३ महिनाभित्र गहुँ आयात गरिसक्नुपर्ने शर्त पनि राखिएको छ। उद्योग विभागले आवश्यक प्रक्रिया पूरा गरेर निर्धारित मापदण्ड अनुसार कोटा वितरण गरिने स्पष्ट पारेको छ।