Dhulikhel Eco Banner new

देशभर पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव, ठाउँठाउँमा वर्षा र हिमपात

3.43K
shares

काठमाडौं, १३ कात्तिक । देशका विभिन्न भागमा हाल पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव परेकाले देशभर वर्षा र हिमपात हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशमा पश्चिमी वायु सक्रिय रहेको छ भने अरब सागरमा बनेको न्यून चापीय प्रणाली र बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को आंशिक प्रभाव नेपालमा परेको छ ।

यसका कारण कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आज दिउँसो अधिकांश समय बादल लाग्ने र तराईका भू–भागमा सामान्य बदली रहने बताइएको छ । कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ ।

महाशाखाले देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही भागमा मध्यम हिमपात हुन सक्ने भएकाले ती क्षेत्रका यात्रु र बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । साथै वर्षा र हिमपातका कारण कृषि कार्यमा असर पर्न सक्ने भएकाले किसानहरूलाई पनि आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ । मौसमविद्हरूका अनुसार चक्रवात ‘मोन्था’ को प्रभाव आउँदो एक दुई दिनसम्म रहने र त्यसपछि मौसम क्रमशः सुधार हुने सम्भावना छ ।