Dhulikhel Eco Banner new

नाइमा एक्स्पोमा सुजुकीको नयाँ एक्सेस १२५ र रिभर इन्डी सार्वजनिक गर्दै भी.जी. अटोमोबाइल्स

819
shares

काठमाडौं, २४ साउन । भी.जी. अटोमोबाइल्स प्रालिले यस वर्ष आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पोमा दुई अन्तर्राष्ट्रिय ब्रान्डका नयाँ उत्पादन प्रस्तुत गर्ने भएको छ। कम्पनीले सुजुकीका दुईपांग्रे सवारी तथा भारतको विद्युतीय सवारी ब्रान्ड रिभर मोबिलिटीका नयाँ उत्पादनलाई एक्स्पोमार्फत नेपाली बजारमा प्रस्तुत गर्न लागेको हो।

केटिएम भ्वाइस सँगको कुराकानीमा भी.जी. अटोमोबाइल्स प्रालिका महाप्रबन्धक पारसका अनुसार यस वर्ष कम्पनीले सुजुकीको नयाँ जीपीएस कनेक्टेड एक्सेस १२५ र रिभर मोबिलिटीको नेपालमा पहिलो सार्वजनिक प्रस्तुति रिभर इन्डीलाई मुख्य आकर्षणका रूपमा राख्नेछ।

“रिभर ब्रान्डलाई हामी पहिलो पटक नेपालमा सार्वजनिक गर्दैछौँ। यसको मुख्य उत्पादन रिभर इन्डी हो,” पारसले बताए।

उनका अनुसार रिभर इन्डी नेपाली सडकलाई ध्यानमा राखेर विकास गरिएको विद्युतीय स्कुटर हो। यसमा १४ इन्चका पाङ्ग्रा, चौडा टायर, एकपटक चार्ज गर्दा १६० किलोमिटरसम्मको रेन्ज, ९० किलोमिटर प्रतिघण्टाको उच्च गति र ५५ लिटर क्षमताको स्टोरेज रहेको छ। कम्पनीले यसलाई आफ्नो वर्गकै ठूलो स्टोरेज क्षमता भएको स्कुटरका रूपमा प्रस्तुत गरेको छ।

सुरक्षाका हिसाबले पनि रिभर इन्डी अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रमाणित रहेको कम्पनीको दाबी छ। साथै, रिभर दुई पटक प्रतिष्ठित जर्मन रेड डट डिजाइन अवार्ड जित्ने पहिलो भारतीय दुईपांग्रे ब्रान्ड भएको पारसले जानकारी दिए।

जीपीएस कनेक्टिभिटीसहित नयाँ एक्सेस १२५

सुजुकीतर्फ कम्पनीले आधुनिक प्रविधिसहितको जीपीएस कनेक्टेड एक्सेस १२५ सार्वजनिक गर्ने तयारी गरेको छ। यसमा जीपीएस, ब्लुटुथ, कलर आईडी, मोबाइल नोटिफिकेसन तथा पार्किङ लोकेसन ट्र्याकिङजस्ता सुविधा उपलब्ध छन्। यी सुविधा पेट्रोल स्कुटरमा तुलनात्मक रूपमा दुर्लभ रहेको कम्पनीको भनाइ छ।

एक्स्पोमा दर्शक बढ्ने अपेक्षा

गत वर्ष पहिलोपटक आयोजना भएको नाइमा एक्स्पोप्रति यस वर्ष उपभोक्ताको चासो अझ बढेको पारसले बताए। गत वर्षको तुलनामा यसपटक दोब्बरदेखि तेब्बरसम्म दर्शक आउने अपेक्षा गरिएको उनको भनाइ छ।

एक्स्पो अवधिमा सुजुकीका लागि विशेष अफर घोषणा गरिनेछ भने रिभर इन्डीको बुकिङ तत्काल खुला नगरिने बताइएको छ। ग्राहकले एक्स्पोमा स्कुटर अवलोकन गरी आफ्नो रुचि दर्ता गर्न सक्नेछन्।

सुजुकीमा ० प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा

कम्पनीका अनुसार सुजुकीका ग्राहकका लागि ० प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा उपलब्ध हुनेछ। यसका लागि एमआईपीएल, जेएसपीएल, जगदम्बा हायर पर्चेज तथा उल्हास फाइनान्ससँग सहकार्य गरिएको छ।

एक्स्पोमै अन(द(स्पट फाइनान्स अप्रुभलको व्यवस्था गरिने कम्पनीले जनाएको छ।

सुजुकीमा ५ वर्ष, रिभरमा ८ वर्षसम्म वारेन्टी

बिक्रीपछिको सेवामा पनि कम्पनीले विशेष ध्यान दिएको जनाएको छ। सुजुकीका सबै उत्पादनमा ५ वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ।

त्यस्तै, रिभर इन्डीमा ३ वर्षको स्ट्यान्डर्ड वारेन्टी रहनेछ भने ग्राहकको चाहनाअनुसार ८ वर्षसम्मको विस्तारित वारेन्टी उपलब्ध हुने पारसले बताए।

नेपालमा बढ्दै विद्युतीय सवारीको बजार

नेपालमा विद्युतीय सवारीको बजार विस्तार हुँदै गएको उल्लेख गर्दै पारसले केही वर्षअघिसम्म ४–५ प्रतिशत रहेको विद्युतीय सवारीको बजार अहिले १५ प्रतिशतभन्दा माथि पुग्ने अवस्थामा रहेको बताए।

बढ्दो इन्धन मूल्य र वातावरणीय सचेतनाका कारण ग्राहकको आकर्षण विद्युतीय सवारीतर्फ बढेको उनको भनाइ छ।

भी.जी. अटोमोबाइल्स प्रालिले यस वर्षको नाइमा नेपाल मोबिलिटी एक्स्पोबाट राम्रो दर्शक उपस्थिति र सकारात्मक व्यापारको अपेक्षा गरेको छ। कम्पनीले ग्राहकलाई एक्स्पोमा आएर सुजुकी र रिभरका नयाँ उत्पादन अवलोकन गर्न आग्रह गरेको छ।