Dhulikhel Eco Banner new

टाटा गाडीका नक्कली पार्टपूर्जा बिक्री गरेको आरोपमा व्यवसायी पक्राउ

494
shares

काठमाडौं, २४ साउन। टाटा ब्रान्डका गाडीका नक्कली पार्टपुर्जा तथा लुब्रिकेन्ट्स अवैध रूपमा आयात गरी बिक्री वितरण गर्ने एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बनेपा निवासी राजकुमार पोते रहेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको टोलीले बनेपास्थित नेष्ट जेनेरेशन अटोमोटिभ प्रालिको पसल तथा गोदाममा छापा मारेर करोडौं रुपैयाँ बराबरका अवैध रूपमा आयात गरिएका नक्कली पार्टपुर्जा तथा लुब्रिकेन्ट्स बरामद गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रवीन कार्कीका अनुसार पोते यसअघि पनि राजस्व छलीसम्बन्धी मुद्दामा कारबाहीमा परिसकेका व्यक्ति हुन्। प्रहरीले व्यवसायी पोतेको पसलसहित १० वटा गोदाममा सिलबन्दी गरी थप अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा बरामद भएका सामान उपभोक्तालाई नक्कली भएको जानकारी नदिई बिक्री–वितरण गरिएको हुनसक्ने आशंका गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले देशभर सञ्चालन भइरहेका यस्ता अवैध कारोबारविरुद्ध निगरानी बढाइएको जनाउँदै नक्कली अटो पार्टपुर्जा तथा अन्य अवैध सामानको आयात, भण्डारण र बिक्रीमा संलग्न व्यक्तिमाथि कडा कारबाही गरिने जनाएको छ।