Dhulikhel Eco Banner new

भन्सार जाँचपासमा अनधिकृत व्यक्तिको प्रवेश रोक्न विभागको निर्देशन, महासंघद्वारा स्वागत

754
shares

काठमाडौं, २४ साउन । भन्सार एजेन्ट महासंघ नेपालले भन्सार जाँचपास प्रक्रियामा अनधिकृत व्यक्तिको संलग्नता रोक्ने भन्सार विभागको निर्देशनको स्वागत गरेको छ। महासंघले कानूनबमोजिमको भन्सार जाँचपास प्रणाली कार्यान्वयनमा पूर्ण प्रतिबद्धता जनाएको हो।

भन्सार विभागले हालै जारी गरेको परिपत्रप्रति ध्यानाकर्षण जनाउँदै महासंघले नियुक्तिपत्र प्राप्त इजाजतप्राप्त भन्सार जाँचपास प्रतिनिधिमार्फत मात्रै जाँचपास प्रक्रिया सञ्चालन हुनुपर्ने व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।

महासंघले भन्सार जाँचपासमा अनधिकृत व्यक्तिको संलग्नता, इजाजतपत्रको दुरुपयोग तथा गैरकानुनी अभ्यासको आफूले विरोध गर्दै आएको जनाएको छ। विभागको पछिल्लो निर्देशनले भन्सार जाँचपास प्रणालीमा पारदर्शिता, उत्तरदायित्व र सुशासन कायम गर्न सहयोग पुग्ने महासंघको भनाइ छ।

महासंघका अनुसार कानूनले तोकेको प्रक्रियाबाहिर गएर हुने गतिविधिले राज्यको राजस्व सुरक्षा कमजोर पार्नुका साथै वैध रूपमा व्यवसाय सञ्चालन गरिरहेका भन्सार एजेन्टलाई समेत असर पार्न सक्छ। त्यसैले जाँचपास प्रक्रियामा जिम्मेवारी र अधिकार स्पष्ट हुनुपर्ने महासंघले जनाएको छ।

महासंघले कानून कार्यान्वयनका क्रममा देखिन सक्ने व्यवहारिक तथा संरचनागत कठिनाइलाई भने तथ्य र अनुभवका आधारमा समाधान गर्नुपर्ने जनाएको छ। त्यस्ता समस्या समाधानका लागि सरकार तथा भन्सार विभागसँग संस्थागत संवादमार्फत सहकार्य गर्ने महासंघको प्रतिबद्धता छ।

महासंघले भन्सार प्रणालीलाई थप पारदर्शी, व्यवस्थित र प्रविधिमैत्री बनाउन आवश्यक सुधारका विषयमा समेत सरकारसँग सहकार्य गर्ने जनाएको छ।

राजस्व सुरक्षा, वैध व्यापारको सहजीकरण तथा आधुनिक र उत्तरदायी भन्सार प्रशासन निर्माणमा सरकारलाई आवश्यक सहयोग गर्न महासंघ प्रतिबद्ध रहेको जनाएको छ।

महासंघले कानूनको प्रभावकारी कार्यान्वयनसँगै भन्सार जाँचपास प्रक्रियामा संलग्न सबै पक्षको भूमिका स्पष्ट र जिम्मेवार बनाउन सकेमा राजस्व चुहावट नियन्त्रण तथा व्यापार सहजीकरण दुवैमा सकारात्मक प्रभाव पर्ने बताएको छ।