Dhulikhel Eco Banner new

महिलाको सम्मानमा इसेवाको ‘श्रावण र शृङ्गार’ कार्यक्रम सम्पन्न

364
shares

काठमाडौँ,२४ साउन । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले ललितपुरको पुल्चोकस्थित लबिम मलमा ‘श्रावण र शृङ्गार’ कार्यक्रम सम्पन्न गरेको छ। नेपाली महिलाका लागि विशेष मानिने श्रावण महिनाको अवसरमा आयोजित कार्यक्रम श्रावण २३ र २४ गते सञ्चालन गरिएको हो।

शनिबार र आइतबार आयोजित कार्यक्रममा इसेवा प्रयोगकर्तासँगै सामाजिक सञ्जालमार्फत सहभागी भएका तथा विभिन्न क्षेत्र र पृष्ठभूमिका महिलाहरूको उल्लेख्य सहभागिता रहेको कम्पनीले जनाएको छ। कार्यक्रमले सहभागीहरूलाई साथी–सङ्गीसँग श्रावण महिना र तीजको सांस्कृतिक उत्साह एकै ठाउँमा मनाउने अवसर प्रदान गरेको थियो।

श्रावण महिना तथा तीजको परम्पराबाट प्रेरित कार्यक्रममा सहभागीहरूका लागि ब्युटिसियनमार्फत मेहेन्दी लगाउने, पोलारोइड फोटो बुथमा स्मरणीय तस्बिर खिच्ने तथा विभिन्न खेलमा सहभागी भएर आकर्षक पुरस्कार जित्ने अवसरसमेत प्रदान गरिएको थियो। विभिन्न उमेर समूहका सहभागीलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रमले उत्साहपूर्ण र रमाइलो वातावरण सिर्जना गरेको कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार ‘श्रावण र शृङ्गार’ कार्यक्रम इसेवाले महिनाभर सञ्चालन गरिरहेको ‘3C is the Green Flag’ अभियानअन्तर्गत आयोजना गरिएको हो। उक्त अभियानले आफू मात्र नभई अरूलाई समेत आत्मविश्वास बढाउन, लक्ष्यतर्फ अघि बढ्न प्रेरित गर्न र अरूको जीवनमा सकारात्मक प्रभाव पार्न योगदान गर्ने महिलाहरूको सम्मान गर्ने उद्देश्य राखेको छ।

महिलालाई हरेक दिन कदर र सम्मान गर्ने आफ्नो प्रतिबद्धतालाई थप सुदृढ गर्दै कार्यक्रम आयोजना गरिएको इसेवाले जनाएको छ। सांस्कृतिक परम्परा, मनोरञ्जन र सामुदायिक सहभागितालाई एकै ठाउँमा जोड्दै ‘श्रावण र शृङ्गार’ ले सहभागीहरूका लागि श्रावण तथा तीजको विशेष र अविस्मरणीय अनुभव सिर्जना गरेको कम्पनीको दाबी छ।