नाइमा मोबिलिटी एक्स्पोमा रोयल इनफिल्डका हन्टर ३५० र गोरिल्ला ४५० मुख्य आकर्षण
वि.सं.२०८३ साउन २४ आइतवार १६:३२
shares

काठमाडौं, २४ साउन । नाइमा मोबिलिटी एक्स्पो २०२६ मा रोयल इनफिल्डले आफ्ना लोकप्रिय मोटरसाइकलका विभिन्न मोडल प्रदर्शन गर्ने भएको छ। एक्स्पोमा हन्टर ३५० र गोरिल्ला ४५० मुख्य आकर्षणका रूपमा रहनेछन्।
नेपालमा रोयल इनफिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ ले एक्स्पोमा क्लासिक ३५०, मेटियोर ३५०, स्क्र्याम ४४०, हिमालयन ४५० लगायत विभिन्न मोडल प्रदर्शन गर्ने तयारी गरेको छ।
केटिएम भ्वाइस सँगको कुराकानीमा अल्फा अटोमोटिभकी मार्केटिङ म्यानेजर कल्पना भण्डारी का अनुसार एक्स्पोमा ग्राहकले एउटै स्थानमा रोयल इनफिल्डका विभिन्न मोटरसाइकल हेर्न, अनुभव गर्न तथा आफ्नो आवश्यकता र राइडिङ शैलीअनुसार मोडल छनोट गर्न सक्नेछन्। ग्राहकलाई मोडल छनोटमा कम्पनीको बिक्री टोलीले आवश्यक परामर्शसमेत दिनेछ।
नयाँ मोडल सार्वजनिक नहुने
यस वर्षको एक्स्पोमा रोयल इनफिल्डले नयाँ मोडल सार्वजनिक गर्ने योजना भने नरहेको भण्डारीले बताइन्। गोरिल्ला ४५० हालसालै नेपाली बजारमा सार्वजनिक गरिएको नयाँ मोडल भएकाले यसपटक नयाँ मोडल लन्च नगरिएको उनको भनाइ छ।
गोरिल्ला ४५० नयाँ पुस्ताको रोडस्टर मोटरसाइकल हो। यसमा ४५० सेर्पा इन्जिन, आधुनिक प्रविधि तथा स्पोर्टी डिजाइन रहेको कम्पनीले जनाएको छ। दैनिक यात्रादेखि लामो दूरीको राइडसम्मलाई लक्षित गरिएको यो मोटरसाइकललाई रोयल इनफिल्डले नयाँ पुस्ताको रोडस्टरका रूपमा प्रस्तुत गर्दै आएको छ।
४० देखि ६० प्रतिशतसम्म डाउन पेमेन्टको विकल्प
एक्स्पोमा रोयल इनफिल्डले प्रत्यक्ष नगद छुट वा क्यास अफर भने उपलब्ध नगराउने जनाएको छ। तर ग्राहकका लागि विभिन्न फाइनान्स सुविधा तथा बुकिङको अवसर उपलब्ध गराइनेछ।
कम्पनीका अनुसार ग्राहकले ४० प्रतिशत, ५० प्रतिशत र ६० प्रतिशत डाउन पेमेन्ट का विकल्प रोज्न सक्नेछन्। त्यस्तै, २४, ३० र ३६ महिनासम्मको फाइनान्स अवधि उपलब्ध हुनेछ।
नेपालका विभिन्न फाइनान्स कम्पनीसँग सहकार्य गर्दै आएको कम्पनीले आवश्यक कागजात पूरा भएको अवस्थामा एक्स्पो स्थलमै फाइनान्स प्रक्रिया अगाडि बढाउने व्यवस्था मिलाउने जनाएको छ।
५ लाखदेखि १० लाख ८० हजारसम्म मूल्य
रोयल इनफिल्डका मोटरसाइकलको मूल्य मोडलअनुसार करिब ५ लाखदेखि १० लाख ८० हजार रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ। मोडलअनुसार मोटरसाइकलले करिब ३० देखि ४० किलोमिटर प्रतिलिटरसम्म माइलेज दिन सक्ने भए पनि वास्तविक माइलेज सडकको अवस्था र राइडिङ शैलीअनुसार फरक पर्न सक्नेछ।
कम्पनीले आफ्ना मोटरसाइकलमा ३ वर्षको स्ट्यान्डर्ड वारेन्टी उपलब्ध गराउँदै आएको जनाएको छ। साथै, नेपालभर रहेका आधिकारिक सर्भिस सेन्टरमार्फत बिक्रीपछिको सेवा तथा जेन्युइन स्पेयर पार्ट्स उपलब्ध गराउँदै आएको छ।
बिक्रीसँगै ग्राहकसँग जोडिने अवसर
अल्फा अटोमोटिभले यस वर्षको एक्स्पोबाट राम्रो ग्राहक प्रतिक्रिया तथा उल्लेख्य संख्यामा बुकिङ प्राप्त हुने अपेक्षा गरेको छ। एक्स्पो बिक्री गर्ने माध्यम मात्र नभई नयाँ ग्राहकसँग प्रत्यक्ष जोडिने र रोयल इनफिल्डको समुदाय विस्तार गर्ने अवसरसमेत रहेको भण्डारीले बताइन्।
उनले मोटरसाइकल खरिद गर्दा मूल्यलाई मात्र आधार नबनाई आफ्नो आवश्यकता र प्रयोगको उद्देश्यलाई प्राथमिकता दिनुपर्ने सुझाव दिइन्। दैनिक घर–अफिस आवतजावतका लागि मोटरसाइकल प्रयोग गर्ने ग्राहकका लागि ४५० सीसीको हिमालयन आवश्यक नहुन सक्ने, तर अफ–रोडिङ, लामो दूरीको यात्रा तथा एडभेन्चर टुरिङमा रुचि राख्ने ग्राहकका लागि हिमालयन ४५० उपयुक्त हुन सक्ने उनको भनाइ छ।
उनका अनुसार रोयल इनफिल्डका प्रत्येक मोडल फरक–फरक प्रयोजन र राइडिङ आवश्यकतालाई ध्यानमा राखेर निर्माण गरिएका छन्। त्यसैले मोटरसाइकल खरिद गर्दा सर्भिस नेटवर्क, स्पेयर पार्ट्सको उपलब्धता, दीर्घकालीन उपयोगिता, रिसेल भ्याल्यू तथा आफ्नो राइडिङ शैली लाई समेत ध्यान दिन आवश्यक छ।
नाइमा मोबिलिटी एक्स्पोमा रोयल इनफिल्डको स्टलमा ग्राहकले विभिन्न मोटरसाइकल प्रत्यक्ष अवलोकन गर्नुका साथै फाइनान्स सुविधा, बुकिङ तथा मोडल छनोटसम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन्।















