तत्कालीन किष्ट बैंकका सीईओ कमल ज्ञवाली रिहा
वि.सं.२०८२ कात्तिक १८ मंगलवार १४:०२
shares

काठमाडौं, १८ कात्तिक । सर्वोच्च अदालतले पूर्व बैंकर कमल ज्ञवालीलाई थुनामुक्त गर्न आदेश दिएको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाल र अब्दुल अजीन मुसलमानको संयुक्त इजलासले सोमबार बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमाथि सुनुवाइ गर्दै परमादेश जारी गरेको हो।
ज्ञवालीकी श्रीमती तथा साबिक किस्ट बैंककी तत्कालीन प्रबन्ध सञ्चालक गौरी खनाल ज्ञवालीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले उक्त आदेश दिएको हो। ज्ञवाली र उनकी श्रीमती गौरीलाई वाणिज्य इजलास, उच्च अदालत पाटनले २०७३ असोजमा बैंकिङ्ग कसुरमा दोषी ठहर गर्दै जेल र जरिवानाको सजाय सुनाएको थियो। नेपाल राष्ट्र बैंकले दायर गरेको मुद्दामा अदालतले ज्ञवालीलाई ३ वर्ष कैद र १२ करोड ५० लाख रुपैयाँ जरिवानाको सजाय निर्धारण गरेको थियो।
ज्ञवालीमाथि करिब ६ करोड रुपैयाँ बराबरको सम्पत्ति धितो राखी त्यसको तीन गुणा बढी ऋण लिएर दुरुपयोग गरेको आरोप थियो। सो प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले अनुसन्धान गरी मुद्दा दायर गरेको थियो।
मुद्दा दायर भएपछि ज्ञवाली फरार भएका थिए। उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले २०७५ असोजमा भारतमा लुकेर बसेको अवस्थामा पक्राउ गरी नेपाल ल्याएको थियो।लगभग सात वर्षपछि सर्वोच्च अदालतको आदेशअनुसार अब ज्ञवाली थुनामुक्त हुने भएका छन्।
















