लुम्बिनी प्रदेशका उद्योगहरुको औसत क्षमता उपयोग घटेर ५०.६ प्रतिशतमा
वि.सं.२०८२ कात्तिक २८ शुक्रवार १७:२७
shares

काठमाडौं, २८ कात्तिक । नेपाल राष्ट्र बैंकको अध्ययन प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१(८२ मा लुम्बिनी प्रदेशका उद्योगहरुको औसत क्षमता उपयोग घटेर ५०.६ प्रतिशत पुगेको छ। गत वर्ष यो दर ५६.३६ प्रतिशत थियो। अध्ययनमा समेटिएका २८ उद्योगहरुमध्ये सबैभन्दा बढी रोजिन उत्पादन गर्ने उद्योगले ८८.६९ प्रतिशत र सबैभन्दा कम ड्राई सिरप उत्पादन गर्ने उद्योगले ८.६४ प्रतिशत क्षमता उपयोग गरेका छन्।
गत वर्षको तुलनामा सिन्थेटिक कपडाको उत्पादन १७०.७७ प्रतिशतले वृद्धि भए पनि, आल्मुनियमका सामान (जस्तै प्रेसर कुकर) उत्पादन ६७.०१ प्रतिशतले घटेको छ। समीक्षा वर्षमा महिला ६४१ र पुरुष ४,४५३ गरी जम्मा ४,९८८ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्, जुन अघिल्लो वर्षको ५,०९४ जनाभन्दा घटेको संख्या हो।
लुम्बिनी प्रदेशमा हाल ७५६ उद्योगहरु दर्ता भइसकेका छन्, जसले ७६,०८० जनालाई रोजगार प्रदान गरेका छन्। रुपन्देही जिल्लामा उद्योगहरुको हिस्सेदारी सबैभन्दा बढी (३८.६२प्रतिशत) रहेको छ भने प्यूठान र रोल्पामा सबैभन्दा कम (०.४ प्रतिशत) रहेको छ। बुटवल औद्योगिक क्षेत्रमा ६६ र नेपालगञ्ज औद्योगिक क्षेत्रमा ३१ उद्योग सञ्चालनमा छन्।
प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा ६।९३ प्रतिशतले वृद्धि भई १ खर्ब ४१ अर्ब २ करोड ६० लाख पुगेको छ। सबैभन्दा बढी कर्जा कृषि, बन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योगमा (४३.६३प्रतिशत) र सबैभन्दा कम विद्युत÷ग्यास÷पानी उद्योगमा (१.०० प्रतिशत) गएको छ।
नियमित विद्युत आपूर्ति अवरुद्ध हुनु, कच्चा पदार्थको अभाव, र युवा दक्ष जनशक्तिको विदेश पलायनले उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न कठिन बनाएको छ। बजार माग कम हुनु, गुणस्तरीय उर्जाको अभाव, र आर्थिक सुस्तता उद्योगीहरुको मनोबलमा प्रभाव पारिरहेको छ।
यद्यपि रुपन्देहीको मोतिपुर र बाँकेको नौवस्ता औद्योगिक क्षेत्र निर्माण भईरहेको र पूर्वाधार सहितको क्षेत्रमा नयाँ उद्यमीलाई उद्योग सञ्चालनमा प्रोत्साहन मिल्ने अनुमान गरिएको छ। प्रदेशमा प्रशस्त खानी, जडिबुटी, वनजन्य स्रोत र सिमेन्ट उत्पादनको सम्भावना रहेका कारण उद्योग विस्तार गर्न सम्भावना ठूलो देखिन्छ।
समीक्षा वर्षमा लुम्बिनी प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफल १.४२ प्रतिशतले घटेर ७,६८,९६८ हेक्टर रहेको छ, तर उत्पादन ३.४३ प्रतिशतले बढेको छ। दुध, मासु, अण्डा र माछाको उत्पादन क्रमशः २.८८प्रतिशत, ३.०३प्रतिशत, ३.११प्रतिशत र १३.९८प्रतिशतले बढेको छ।
पर्यटक आगमन र होटल व्यवसायमा ह्रास आएको छ। नमुना १० होटलमा शैया संख्या, बिक्री संख्या र पर्यटक आगमन क्रमशः ३४.२०प्रतिशत, ४५.७४प्रतिशत र ६१.७८प्रतिशतले घटेको छ।
नारायणघाट–बुटवल सडक, सिद्धबाबा सुरुङ मार्ग, कालिगण्डकी कोरिडोर, सिक्टा र बबई सिँचाई आयोजनामा उल्लेखनीय प्रगति भएको छ। आर्थिक वर्ष २०८१(८२ मा लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर ४.७० प्रतिशत अनुमान गरिएको छ। कुल गार्हस्थ्य उत्पादनमा यस प्रदेशको योगदान १४.२३ प्रतिशत पुगेको छ।
कुल क्षेत्रगत योगदानको हिसाबले यातायात–भण्डारण क्षेत्र ९.७० प्रतिशत र खानी–उत्खनन क्षेत्र २.० प्रतिशत रहेको छ। औद्योगिक वर्गीकरण अनुसार कृषि, वन र मत्स्यपालन क्षेत्रको योगदान ३१.०२ प्रतिशत सबैभन्दा बढी रहेको छ।



















