Dhulikhel Eco Banner new

‘बैंकिङ क्षेत्रमा निजी–सार्वजनिक सहकार्य र आन्तरिक सुधारको आवश्यकता छ’

6.01K
shares

काठमाडौं, २८ कात्तिक । नेपालको बैंकिङ क्षेत्र अहिले मुख्यतः खराब कर्जा र गैरबैंकिङ सम्पत्तिबाट दबाबमा छ । कृषि र अन्य लगानीमा प्रवाह भएका कर्जा वास्तविक उद्देश्यमा प्रयोग नहुन सक्ने जोखिम पनि बढिरहेको छ। बैंकहरूले कर्जा प्रवाह प्रक्रियामा कडाइ, प्रभावकारी अनुगमन, जोखिम व्यवस्थापन प्रणाली मजबुत पार्नुपर्ने आवश्यकता छ। साथै, डिजिटलाइजेशन र एआई–आधारित सेवा प्रणालीमा ध्यान दिनु आवश्यक छ । निजी–सार्वजनिक सहकार्य, आन्तरिक सुधार, पूँजी व्यवस्थापन, र नवप्रवर्तनमार्फत लगानीयोग्य वातावरण तयार गर्नु आवश्यक छ। ग्रामीण अर्थतन्त्रमा वित्तीय पहुँच, उद्यमशीलता र महिला सशक्तिकरण बढाउन लघुवित्त र माइक्रोफाइनान्सको भूमिका सुदृढ गर्नुपर्ने देखिन्छ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडलले अहिले बैंकिङ क्षेत्रको सबैभन्दा ठूलो चुनौती खराब कर्जा र गैरबैंकिङ सम्पत्ति रहेको बताएका छन् । बैंकिङ क्षेत्रका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र अध्यक्षहरुलाई अर्थतन्त्र, कर्जा प्रवाह, लगानी वातावरण र डिजिटल रूपान्तरणसँग जोड दिनु पर्ने बताएका छन् । अहिले बैंकिङ क्षेत्रको सबैभन्दा ठूलो चुनौती खराब कर्जा र गैरबैंकिङ सम्पत्ति रहेको गभर्नर पौडलले बताए ।

गभर्नरले पछिल्लो समय कृषि लगायतका क्षेत्रमा प्रवाह गरिएको कर्जा वास्तविक उद्देश्यमा नखर्चिएर विदेशिने माध्यम बन्न सक्ने सम्भावनाबारे गम्भीर चिन्ता व्यक्त गरे। उनले बैंकहरुले कर्जा प्रवाह प्रक्रियामा कडाइ र अनुगमन दुवै मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याए।

उनका अनुसार कर्जा शाखाको कार्यशैली, कर्जा शीर्षक, कर्जा वास्तविक क्षेत्रमा प्रयोग भएको नहुनु लगायतका समस्याले खराब कर्जा बढ्दै गएको छ। “जोखिम व्यवस्थापन प्रणाली कति प्रभावकारी छ भन्नेबारे राष्ट्र बैंकले गहिरो अध्ययन गरिरहेको छ,” उनले भने।

गभर्नर पौडलले चेक बाउन्ससम्बन्धी समस्या बढ्दै गएको उल्लेख गर्दै यसमा पनि पुनरावलोकन आवश्यक रहेको स्पष्ट पारे। साथै, विगतमा भएभन्दा अहिले शाखा विस्तारको अभ्यास कमजोर देखिएकाले बैंकले शाखा सञ्चालनमा नाफामुखी र जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो।

अहिले परम्परागत लगानी क्षेत्रहरु जस्तै बैंक, बीमा, टेलिकम, एयरलाइन्स, विद्यालय, हस्पिटल र रियल स्टेट सुस्त हुँदै गएपछि बैंकिङ क्षेत्रले लगानी अवसर खोज्न कठिनाइ भोगिरहेको गभर्नरले बताए। “अब के मा लगानी गर्ने भन्ने चुनौती छ,” उनले टिप्पणी गरे।

विश्वभर वित्तीय प्रणाली प्रविधिमैत्री बन्दै गएको भन्दै गभर्नरले नेपाली बैंकहरुलाई डिजिटलाइजेसन र एआई–आधारित सेवा प्रणालीलाई प्राथमिकता दिन आग्रह गरे। प्राविधिक पूर्वाधार विकास र नवप्रवर्तन वित्तीय क्षेत्रको भविष्यका लागि अत्यावश्यक भएको उनको भनाइ थियो।

“बैंकको पैसा व्यवसायमै जानुपर्छ,” भन्दै गभर्नरले कर्जाको सही सदुपयोगमा कडाइ गर्न निर्देशन दिए। लगानीयोग्य वातावरण तयार गर्न बैंकहरुले आन्तरिक सुधार, जोखिम मूल्यांकन र सम्भावित क्षेत्र पहिचानमा सक्रिय हुनुपर्ने उनले बताए। राष्ट्र बैंकले आवश्यक सहयोग गर्ने आश्वासन पनि उनले दिए।

गभर्नर पौडलले आगामी चुनौतीसँग जुध्न बैंकहरुले नीतिअनुकूल लगानी रणनीति अपनाउनुपर्ने, आधुनिक अवधारणा र नयाँ प्रविधि समायोजन गर्नुपर्ने तथा कर्जा र शुल्कसम्बन्धी समस्यामा राष्ट्र बैंक सहकार्य गर्न तयार रहेको पुनः दोहोराए।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष उपेन्द्र पौडेलले वर्तमान आर्थिक चुनौतीका बीच बैंक तथा वित्तीय क्षेत्रले आत्मसमिक्षा, सुधार र आधुनिक रूपान्तरणलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। उनले देशले लामो समयदेखि भोगिरहेका राजनीतिक अस्थिरता, प्राकृतिक विपत्ति तथा आर्थिक दवाबका बाबजुद बैंकिङ क्षेत्रले निरन्तर प्रगति गर्दै आएको उल्लेख गरेका हुन् ।

पौडेलका अनुसार गैरबैंकिङ सम्पत्तिको प्रभावकारी व्यवस्थापन, कर्जा नोक्सानी अवस्थाको पुनरावलोकन तथा नयाँ संरचनाबाट अघि बढ्ने नीतिगत व्यवस्था अब अपरिहार्य बनेको छ। उनले ऋण तथा गैरबैंकिङ सम्पत्ति व्यवस्थापन गर्न ५ प्रतिशतभन्दा बढी नोक्सानी व्यवस्था निर्धारण गरिनुले बैंकहरूलाई थप जिम्मेवारी बढाएको बताए। डिजिटल प्रविधि र एआईको द्रुत विकासलाई अवसरका रूपमा उपयोग गर्न सके बैंकिङ क्षेत्र मौलिक रूपमा रूपान्तरण हुन सक्ने उनको भनाइ छ।

लगानीयोग्य वातावरण निर्माणका लागि बैंकको भौतिक संरचना परिमार्जन, पूँजी व्यवस्थापनमा नवप्रवर्तन र आम्दानी स्रोत विविधीकरण आवश्यक रहेको उनले औंल्याए। सेवा–शुल्कसम्बन्धी व्यवस्था परिमार्जन तथा निर्देशनात्मक कर्जामा पुनरावलोकन गर्न नेपाल राष्ट्र बैंकलाई आग्रह गर्दै उनले कर्जाको उपयोगिता र उपलब्धताको आधारमा नीतिगत सुधार अनिवार्य रहेको बताए।

साना तथा मझौला उद्योगमार्फत रोजगारी सिर्जना, घरेलु उत्पादन प्रवर्द्धन र वित्तीय समानता विस्तारमा बैंकहरूको भूमिका अझै बढ्दै गएको उल्लेख गर्दै पौडेलले कृषि क्षेत्रमा लगानीका अवसर पहिचान गर्न बैंकहरू सक्रिय हुनुपर्ने धारणा राखे। बैंकिङ प्रणालीमा नैतिक सुशासनलाई कुनै हालतमा सम्झौता नगरिने उनले स्पष्ट पारे।

विश्वभर एआईको तीव्र विकास भइरहेकाले नेपाली बैंकिङ क्षेत्रलाई पनि त्यही दिशामा अघि बढाउन आवश्यक पूर्वाधार निर्माण भइरहेको जानकारी दिँदै उनले उद्योग क्षेत्र र बैंक क्षेत्र एक–अर्काका पूरक रहेको बताए। उद्योग क्षेत्रमा बैंकहरूको लगानी ८० प्रतिशतसम्म पुगेको उल्लेख गर्दै पौडेलले निजी क्षेत्र र बैंकको सहकार्यले मुलुकको आर्थिक विस्तारमा निर्णायक योगदान दिने विश्वास व्यक्त गरे।

‘समृद्ध नेपाल’ को आधार निर्माणमा बैंकहरूको योगदान उचित रूपमा कदर हुनुपर्ने भन्दै पौडेलले निजी क्षेत्रलाई अघि बढाउन बैंकहरूको निरन्तर भूमिका अपरिहार्य रहेको निष्कर्ष प्रस्तुत गरे।

लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने सबैभन्दा महत्वपूर्ण माध्यम लघुवित्त भएको बताएका छन्। उनले लघुवित्तले वित्तीय समावेशीता विस्तार, महिला सशक्तिकरण, वित्तीय साक्षरता वृद्धि र स्थानीय स्तरको उद्यमशीलता विकासमा निर्णायक भूमिका खेलेको बताएका हुन् ।

यादवका अनुसार अहिले देशभर ६२ लाखभन्दा बढी नागरिक लघुवित्तसँग जोडिएका छन् भने २७ लाखभन्दा बढीले लघुवित्तको कर्जाबाट साना व्यवसाय सञ्चालन गरेका छन्। लघुवित्तलाई ‘ठूलो र व्यापक क्षेत्र’ का रूपमा उल्लेख गर्दै उनले यसलाई अझ विस्तार गर्नुपर्ने आवश्यकतासमेत औंल्याए।

अध्यक्ष यादवले बैंकिङ क्षेत्रमा पर्याप्त लगानीयोग्य रकम भए पनि ग्रामीण क्षेत्रले अपेक्षित कर्जा नपाएको कारण मौद्रिक नीतिका अवरोध भएको बताए। “नीतिगत सुधार भयो भने थुप्रिएको लगानीयोग्य रकम ग्रामीण क्षेत्रमा लैजाने वातावरण बन्छ,” उनले भने ।

उनले माइक्रोफाइनान्समार्फत २०–२५ लाखसम्मको लगानी ग्रामीण क्षेत्रमा पुर्‍याउन मार्ग खुला गर्नुपर्ने धारणा राखे । ग्रामीण क्षेत्रमा उद्यमशीलता बढाउन नीतिगत परिवर्तन अपरिहार्य रहेको उनले जोड दिए । “बिनाधितो ७ लाखसम्म कर्जा दिन ठीक छ, तर धितो राखेर लगानी गर्न १५ लाखसम्मको व्यवस्था हुनुपर्छ,” यादवले भने।

यादवले लघुवित्तलाई थप सशक्त बनाएर कृषि व्यवसायीकरणमा केन्द्रित हुनुपर्ने बताए । उनले गाई–भैसी पालन तथा अन्य कृषि उद्यममा संलग्न किसानलाई बीमा सेवा पुर्‍याउन आवश्यक रहेको उल्लेख गर्दै लघुवित्त र बीमा क्षेत्रबीच सहकार्य बढाउनुपर्ने सुझाव दिए ।

अध्यक्ष यादवका अनुसार ग्रामीण अर्थतन्त्रको उद्यमशीलता, वित्तीय पहुँच र उत्पादकता बढाउन लघुवित्त सबैभन्दा प्रभावकारी माध्यम बनेको छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बैंकिङ क्षेत्र हाल चुनौतीपूर्ण अवस्थामा रहे पनि आगामी दिनहरूमा सकारात्मक विकासको सम्भावना प्रबल रहेको बताएका छन्।

उनले बैंकिङ क्षेत्रका सूचाङ्कहरू अपेक्षा अनुसार उत्साहजनक नभए पनि यसको मूल कारण पहिचान भइसकेको र सुधार सम्भव रहेको बताए। अध्यक्ष कोइरालाका अनुसार ‘जेन जी आन्दोलन’ का कारण कर्जा विस्तारमा अवरोध पुग्नु र निक्षेप संकलनमा चुनौती आउनुले बैंकिङ क्षेत्र प्रभावित भएको छ। साथै, हालैका बाढी–पहिरोले पनि बैंकिङ कारोबारमा प्रत्यक्ष असर पारेको उनले उल्लेख गरे। “आगामी दिनमा पुनः आन्दोलन हुन्छ कि भन्ने डर अझै छ,” कोइरालाले भने ।

तर नकारात्मकताले समस्या समाधान नहुने बताउँदै उनले सबै क्षेत्र सकारात्मक दृष्टिकोणसहित अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । “देशका सबै क्षेत्रले मिलेर अर्थतन्त्रलाई पुनः लयमा ल्याउनुपर्छ, तब मात्रै ग्रोथ सुनिश्चित हुन्छ,” उनले जोड दिए ।

लगानी योग्य वातावरण निर्माणका लागि नयाँ अवसर पहिल्याउनुपर्ने उल्लेख गर्दै कोइरालाले सबै क्षेत्र एकजुट भएर अघि बढेमा भविष्यमा अवस्था सुधार हुने विश्वास व्यक्त गरे ।

नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले बैंक तथा वित्तीय संस्थाको ब्याजदर एकल बिन्दुमा आए पनि लगानीका लागि वातावरण अझै असुरक्षित रहेको बताएका छन्।
उनले जेनजी आन्दोलनको प्रभाव व्यवसाय क्षेत्रमा स्पष्ट देखिएको उल्लेख गरे। अध्यक्ष पाण्डेका अनुसार हालको परिस्थितिमा लगानीकर्ताले जोखिम उच्च भएको अनुभव गरिरहेका छन्। “ब्याजदर कम भए पनि व्यवसाय सञ्चालनका लागि वातावरण अझै असुरक्षित छ,” उनले भने।

उद्योग परिसंघका अध्यक्षले लगानी प्रवर्द्धनका लागि स्थिरता, स्पष्ट नीति र व्यापारमैत्री वातावरण आवश्यक रहेको जोड दिएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले बैंक र व्यवसायीहरूले जटिल परिस्थितिमा सहकार्य गर्दै अघि बढ्नुपर्ने बताएका छन्।

श्रेष्ठका अनुसार बैंकहरू बलियो र नाफा आर्जनक्षम हुनुपर्ने भएकोले निजी क्षेत्रसँग सुमधुर सम्बन्ध कायम गर्न आवश्यक छ। उनले सहुलियतपूर्ण कर्जासम्बन्धी गुनासोहरू सुनुवाइ गर्नुपर्नेमा जोड दिँदै यसका लागि बैंकहरूको सक्रिय भूमिका आवश्यक रहेको बताए।

त्यस्तै, वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कृषि बीमा र पशुबीमालाई प्रवर्द्धन गर्नुपर्ने र किसानहरूलाई प्रोत्साहन दिन यसमा बैंकहरूले योगदान दिनुपर्ने बताए। उनले बैंक र व्यवसायीबीच सहकार्य नै आर्थिक विकासको आधार भएको उल्लेख गरे।