Dhulikhel Eco Banner new

अद्यावधिक चुच्चे नक्सा र आधुनिक डिजाइनयुक्त १ सय रुपैयाँ नोट आजदेखि चलनचल्तीमा

3.55K
shares

काठमाडौं, मंसिर ११ । नेपाल राष्ट्र बैंकले नयाँ सुरक्षा सुविधा र अद्यावधिक डिजाइनसहितको १ सय रुपैयाँ नोट आजदेखि औपचारिक रूपमा बजारमा उपलब्ध गराएको छ। नोटको आकार, कागज र मुख्य रंग भने पुरानै रहँदा यस संस्करणमा चुच्चे नक्सा, सगरमाथा, लालीगुराँस र मायादेवीको चित्र समावेश गरिएको छ।

नोटको अगाडिको भागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानीछाप, र बीचमा अद्यावधिक चुच्चे नक्सा राखिएको छ। राष्ट्र बैंकका अनुसार यो नक्सा हालको भू–सीमांकन अनुसार तयार पारिएको हो। साथै नोटमा “नेपाल सरकारको जमानत प्राप्त‘ १०० रुपैयाँ तुरुन्त पाइनेछ” भन्ने प्रतिज्ञात्मक वाक्य अंकित छ।

नोटमा दृष्टिविहीनका लागि छामेर पहिचान गर्न सकिने कालो थोप्ला ट्याक्टाइल मार्क राखिएको छ। सुरक्षा विशेषताका रूपमा २ मिमीसम्म चौडा सुरक्षा धागो पनि समावेश गरिएको छ, जसले सिधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रंग देखिन्छ।

पछाडिको भागमा एक सिंगे गैंडा (माउ र बच्चा) को चित्र राखिएको छ। माथिल्लो भागमा ‘Nepal Rastra Bank’ र तल्लो किनारामा ‘Rupees Hundred’ साथै नोटको सिरिज 2024 AD अंकित गरिएको छ।

राष्ट्र बैंकले नयाँ नोट देशभरका बैंक र वित्तीय संस्थाहरू मार्फत क्रमिक रूपमा वितरण गरिने जानकारी दिएको छ। यसअघि २०७६ असोजमा सार्वजनिक हुने भनिएको पुरानो नोट पूर्ण रूपमा बजारमा नआएको कारण, यसपटक नयाँ सिरिजको नोट सबै क्षेत्रमा समान रूपमा उपलब्ध गराउने योजना बनाइएको छ।