भगवती कम्पोजिट इण्डष्ट्रिजले आईपीओका लागि नेपाल लाइफ क्यापिटल नियुक्त
वि.सं.२०८२ मंसिर १० बुधवार १६:३८
shares

काठमाडौं, १० मंसिर । भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई जारी पूँजीको २० प्रतिशतका दरले प्रति शेयर अंकित मूल्य रु. १०० मा ६,४४,००० कित्ता आईपीओ शेयर निष्काशन गर्ने तयारी गरेको छ। यसका लागि कम्पनीले नेपाल लाइफ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
मंसिर १० गते, नेपाल लाइफ क्यापिटलको कमलपोखरीस्थित कार्यालयमा आयोजित कार्यक्रममा, भगवती कम्पोजिट इण्डष्ट्रिजका अध्यक्ष दक्षिणा गैह्रे न्यौपाने र नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरे।
चितवन, भरतपुरस्थित भगवती कम्पोजिट इण्डष्ट्रिजले विगत १५ वर्षदेखि अत्याधुनिक प्रविधि प्रयोग गर्दै दिगो, सुरक्षित र प्रविधिमैत्री उद्योगजन्य वस्तु उत्पादन गर्दै आइरहेको छ। कम्पनीले अत्याधुनिक मेसिनरीबाट बनेका डब्लु पी सी उच्च घनत्वका ढोका, पार्टेशन बोर्ड, वाल प्यानल, कभर, वाल क्याडिङ्ग लगायतका उत्पादनहरू तयार गर्दै आएको छ, जसले पानी, किरा, घाम तथा चिसोपन प्रतिरोध गर्ने विशेष क्षमता राख्छन्।
यसका अतिरिक्त, कम्पनीले ढोका, झ्याल, फ्रेम, फाइबर सिट, फाइबर स्लाइड, फाइबर बाथ टब लगायतका सबै प्रकारका फाइबर उत्पादनहरू उच्च गुणस्तरमा उत्पादन गर्दै आएको छ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी नेपाल लाइफ क्यापिटल लिमिटेड मर्चेन्ट बैंकिङ्ग सेवा प्रदान गर्ने अधिकृत संस्था हो, जसले लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूति, निक्षेप सदस्य सेवा, योजना व्यवस्थापन, डिपोजिटरी सेवा, संस्थागत परामर्श, शेयर रजिष्ट्रेशन तथा निष्काशन–बिक्री व्यवस्थापनसमेत गर्दै आएको छ।















