Dhulikhel Eco Banner new

कालोमोसो दल्नेलाई जाहेरी दिनै डरायो ज्योति विकास बैंक

17.68K
shares

काठमाडौं, २९ मंसिर । सप्तरीको रुपनी गाउँपालिकामा ज्योति विकास बैंकका कर्मचारीमाथि कुटपिट र कालोमोसो दलेको गम्भीर घटना भएको चार दिन बितिसक्दा पनि बैंकले प्रहरीमा जाहेरी दर्ता गराउन सकेको छैन। सार्वजनिक रूपमा कर्मचारीमाथि अपमानजनक व्यवहार भए पनि बैंक प्रशासन मौन देखिएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डम्बरबहादुर पुरीका अनुसार घटनाको दिन बैंकका कर्मचारीहरू प्रहरी कार्यालय पुगेका थिए। तर रीतबमोजिम निवेदन नपुगेको बहानामा जाहेरी दर्ता भएन।
“कुटपिट तथा कालोमोसो दलेको दिन बैंकका कर्मचारी आएका थिए, तर निवेदन नपुगेकाले फर्किएका हुन्,” पुरीले भने।

उनका अनुसार प्रहरी कार्यालयले आवश्यक प्रक्रिया पूरा गरेर पुनः जाहेरी दिन आउन भने पनि बैंक पक्ष हालसम्म नआएको छ। “सल्लाह गरेर कर्मचारीहरू पुनः निवेदन लिएर आउने भनिएको छ, तर अहिलेसम्म आएका छैनन्,” पुरीले स्पष्ट पारे।

गत मंसिर २५ गते बैंकको रुपनी शाखाबाट खटिएका कर्मचारीहरू ऋणको किस्ता नतिरेको विषयमा छलफल गर्न पुगेका बेला उनीहरूमाथि गालीगलौज गर्दै कुटपिट र कालोमोसो दलिएको थियो। कानून हातमा लिने यस्तो घटनामा समेत बैंकले स्पष्ट कदम चाल्न नसक्नुले प्रश्न उठाएको छ।

उक्त विषयमा बैंकका सूचना अधिकारी प्रकाश बरालसँग प्रतिक्रिया लिन खोज्दा उनले आफू मिटिङमा रहेको भन्दै प्रतिक्रिया दिन अस्वीकार गरे। बैंकको मौनताले घटनाप्रति संस्थागत उदासीनता देखिएको आरोपसमेत उठ्न थालेको छ।