पोखरालाई पर्यटनको राजधानी बनाउने आचार्यको घोषणा
वि.सं.२०७९ जेठ १० मंगलवार १५:२२
shares

काठमाडौं, १० जेठ । कास्कीको पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार धनराज आचार्यले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न सरकारसँग औपचारिक प्रश्ताव गर्ने घोषणा गरेका छन् । पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार बनेका आचार्यले ५ हजार मत गणना बाँकी छँदै मेयरमा विजयी हासिल गरिसकेका हुन् ।
यद्यपी पूर्ण मत गणना नभइसकेकोले घोषणा हुन भने बाँकी रहेको छ । मेयरमा उनका प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्ण थापा ५ हजार २८६ मतले पछि परेका छन् । अब ५ हजार १५ मत मात्रै गणना हुन बाँकी रहेको अवस्थामा सबै मत थापाले पाए पनि विजयी हुने छैनन् ।
पोखरा महानगरपालिकामा कुल १ लाख ४३ हजार २२६ मत खसेको थियो भने मंगलवार बिहान ८ बजेसम्म १ लाख ३८ हजार २११ मत गणना भइसकेको छ । जसकारण पनि सहजै उम्मेदवार आचार्यको पक्षमा नतिजा गइसकेको अनुमान लगाउन सकिन्छ । उनले शपथग्रहणपछिको पहिलो निर्णय जन्मदेखि मृत्युसम्मका रजिस्ट्रेशन गर्नुपर्ने कुराहरुलाई ६ महिनाको समयावधि भित्र निःशुल्क बनाउने निर्णय गर्ने घोषणा गरे । उनले शपथग्रहणको दिन पहिलो निर्णयका रुपमा पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न सरकारसँग औपचारिक प्रस्ताव गर्ने पनि जानकारी दिए ।
उनले चुनावी प्रतिष्पर्धामा विभिन्न पार्टीबाट आएपनि निर्वाचित भएपछि सबै एउटै टिमको भएकोले अब पोखराको अविभावक भएर काम गर्ने र सबै निर्णयहरु भरसक सर्वसम्मत गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले कसैको स्वार्थ बिना महानगरवासीको लागि निर्णय गर्ने भएकोले महानगरका निर्णय सर्वसम्मत हुनेमा विश्वस्त रहेको पनि बताए । उनले महानगर विकास गर्नका लागि पोखरावासीलाई पहिलो प्राथमिकतामा राखेर रोजगारी दिने र उनीहरुबाट नै विभिन्न विकासका उपाय र योजनाहरु ल्याइने बताए ।
















