एनसीसी बैंकको खुद नाफा करिब ५२ प्रतिशतले बढ्यो
वि.सं.२०७९ साउन ९ सोमवार ०७:१२
shares

काठमाडौं, ९ साउन । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) ले गत आर्थिक वर्षमा खुद नाफा करिब ५२ प्रतिशतले बढाएको छ । बैंकले गत आर्थिक वर्षमा २ अर्ब २ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१.९८ प्रतिशत बढी हो ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३३ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी र सञ्चालन मुनापा बढेकाले नाफामा उल्लेख्य वृद्धि भएको देखिएको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३१.९३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ५३.४५ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी २४.५८ प्रतिशत र सञ्चालन मुनाफा ३९.१७ प्रतिशत बढेको छ । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४७ करोड ४२ लाख रुपैयाँ रहेको छ ।
नाफासँगै बैंकको प्रति शेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ २५ पैसा बढेर १८ रुपैयाँ १५ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.६२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ७९ पैसा रहेको छ ।

















