हिमालयन बैंकको नाफा १७ प्रतिशत घट्यो
वि.सं.२०७९ साउन १८ बुधवार ०७:५७
shares

काठमाडौं, १८ साउन । गत आर्थिक वर्ष हिमालयन बैंकको नाफा १७ प्रतिशत घटेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार गत वर्ष बैंको नाफा अघिल्लो आर्थिक वर्षकोभन्दा १७.२२ प्रतिशले घटेको हो ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले २ अर्ब ४८ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.२२ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ९९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी बढेपनि अन्य सञ्चालन आम्दानी उल्लेख्य घट्दा बैंकको नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३५.२५ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ३१.०५ प्रतिशत बढेको छ। यता, बैंकको कुल सञ्चालन आम्दानी ८.२८ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १७.८१ प्रतिशत घटेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब २२ करोड रुपैयाँ अन्य सञ्चालन आम्दानी, गत आर्थिक वर्षमा घटेर १२ करोड ४० लाखमा सीमित भएपछि बैंकको कुल आम्दानी र सञ्चालन मुनाफा घट्न पुगेको हो। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ६६ करोड १५ लाख रुपैयाँ रहेको छ।
नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ८ रुपैयाँ ९३ पैसा घटेर १९ रुपैयाँ १४ पैसामा झरेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १५.६३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ५० पैसा रहेको छ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी २१.३८ प्रतिशत बढेको छ भने जगेडा कोष ३.२३ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको निक्षेप १९.४३ प्रतिशत र कर्जा १७.४१ प्रतिशत बढेको छ।
















