१४ बैंकको नाफा करिब ४० अर्ब, कुन बैंकको नाफा कति ?
वि.सं.२०७९ साउन १८ बुधवार ०८:२१
shares

काटमाडौं, १८ साउन । वाणिज्य बैंकहरुले वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । आर्थिक वर्ष सुरु भएको ३५ दिन भित्र विवरण सार्वजनिक गर्नु पर्ने भएकाले अहिले बैंकहरुले धमाधम विरण सार्वजनिक गरिरहेका छन् । २६ वटा वाणिज्य बैंकमध्ये अहिलेसम्म १४ वटा बैंकले आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
यी सबै बैंकहरुको नाफा ३९ अर्ब ८७ करोड बढी रहेको छ । १४ बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ३९ अर्ब ८७ करोड रुपैयाँभन्दा बढीको खुद नाफा कमाएका छन् । गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्नेमा ग्लोबल आईएई, सनराइज, सानिमा, लक्ष्मी, माछापुच्छ्रे एनआइसी एशिया, प्रभु, सिजिटन्स र एनसीसी, स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन, प्राइम कमर्सियल, एभरेष्ट र इन्भेष्टमेन्ट बैंक रहेका छन् ।
वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरुमध्ये १२ वटाको नाफा वृद्धि भएको छ भने सानिमा र हिमालयन बैंकको नाफा घटेको छ । सानिमा बैंकको नाफा १.०७ प्रतिशतले गिरावट आएको छ । बैंकले गत आर्थिक वर्षमा २ अर्ब २९ करोड २९ लाख ९ हजार ३२७ रुपैयाँमा झरेको हो । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ३१ करोड २१ लख ५८० रुपैयाँ नाफा कमाएको थियो ।
यो अवधिमा स्ट्यान्डर्ड चाटर्ड बैंकले २ अर्ब २६ करोड नाफा आर्जन गरेको छ । इनभेष्टमेन्ट बैंकले ४ अर्ब ८ करोड बढीको नाफा आर्जन गरेको छ । इन्भेष्टमेन्ट बैंकको नाफा १४.८३ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डले अघिल्लो आर्थिक वर्षकोभन्दा ६२.२६ प्रतिशत बढी हो ।
एक आर्थिक वर्षमा एभरेष्ट बैंक लिमिटेडको खुद नाफा ४३.७७ प्रतिशत वृद्धि गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार आर्थिक वर्ष २०७८/०७९ मा २ अर्ब ५४ करोड रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्ष १ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो ।
त्यस्तै एनसीसी बैंकले गत आर्थिक वर्षमा ५१.९८ प्रतिशतले खुद नाफामा वृद्धि गरी २ अर्ब २ करोड रुपैयाँ पुर्याएको छ । अघिल्लो आवमा बैंकले १ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । नाफा दर उच्च रहेको बैंकको दोस्रो नम्बर प्रभु बैंक रहेको छ । उसको नाफा वृद्धिदर ५१.११ प्रतिशत रहेको छ ।
बैंकले गत आर्थिक वर्षमा २ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएको छ । त्यस्तै ग्लोबल आइएमई बैंकको नाफा २५ प्रतिशतले वृद्धि भएको छ । बैंकले कुल ५ अर्ब २० करोड रुपैयाँ नाफा आर्जन गरको छ । रकमका हिसाबमा वित्तीय विवरण सार्वजनिक गर्ने बैंकमध्ये यो सबैभन्दा बढी हो । यो बैंकको नाफा अघिल्लो आर्थिक वर्षमा ४ अर्ब १६ करोड रुपैयाँ रहेको थियो ।
त्यस्तै उच्च नाफा वृद्धिदर हुनेमा सनराइज बैंक तेस्रो स्थानमा रहेको छ । उसले ४८.६९ प्रतिशत नाफा वृद्धि गरेको छ । सनराइज बैंकले एक आर्थिक वर्षमा २ अर्ब १५ करोड ९ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
अघिल्लो आर्थिक वर्षमा बैंकको यस्तो नाफा १ अर्ब ४४ करोड ६५ लाख ५० हजार रुपैयाँ रहेको थियो । त्यस्तै एनआइसी एशिया बैंकले अघिल्लो आवको खुद नाफामा ३८.८६ प्रतिशतले वृद्धि गरी गत आवमा ४ अर्ब ५२ करोड रुपैयाँ पु¥याएको छ । यो रकमका हिसाबले दोस्रो धेरै रकम हो ।
एक आर्थिक वर्षको समयमा माछापुच्छ्रे बैंकको खुद नाफा ३४.४३ प्रतिशतले वृद्धि भई २ अर्ब १६ करोड पुगेको छ । अघिल्लो आवमा यस्तो नाफा १ अर्ब ८० करोड रुपैया थियो । यो अवधिमा लक्ष्मी बैंकको नाफा १.७६ प्रतिशतले मात्रै वृद्धि भएको छ ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोडभन्दा बढी मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा १ अर्ब ५७ करोड ५७ लाख रुपैयाँ दुख नाफा कमाएको थियो । यो अवधिमा सिटिजन्स बैंकको नाफा २ अर्ब २५ करोड रहेको छ । यो अघिल्लो आर्थिक वर्षकोभन्दा २४.७६ प्रतिशले बढी हो ।
गतआर्थिक वर्ष हिमालयन बैंकको नाफा १७ प्रतिशत घटेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार गत वर्ष बैंको नाफा अघिल्लो आर्थिक वर्षकोभन्दा १७.२२ प्रतिशले घटेको हो ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले २ अर्ब ४८ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.२२ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ९९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
त्यस्तै प्राइम कमर्सिलय बैंकले अघिल्लो आर्थिक वर्षकोभन्दा १२ प्रतिशत बढी मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षमा अघिल्लो आवकोभन्दा १२.६३ प्रतिशत बढी नाफा आर्जन गरेको हो ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ३ अर्ब ६८ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.६३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब २६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
















