GBIME

तत्कालै ब्याजदर एकल विन्दुमा कायम गर्न सकिदैन् : बैंकर्स संघ

1.16K
shares

काठमाडौं, ३ फागुन । नेपाल बैंकर्स संघले ब्याजदर एकल विन्दुमा कायम गर्ने नसकिने बताएको छ । संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै संघका अध्यक्ष सुनिल केसीले एकल विन्दुमा ब्याजदर कायम गर्न नसकिने बताएका हुन् । विश्वको अर्थतन्त्रका कारण नेपालमा पनि त्यसको असर परेको उनले बताए ।

व्यवसायीले अहिलेको ब्याजदर बढी भएको भन्दै ब्याजदर एकल विन्दुमा कायम गर्नु पर्ने माग गरिरहेका छन् । बैंकको ब्याजदरका विषयमा निजी क्षेत्रका व्यवसायीहरुले आन्दोलन समेत गरिरहेका छन् । अध्यक्ष केसीले अहिले अहिले ब्याजदर कम गर्न नसकि भन्दै विस्तारै ब्याजदर घट्दै जाने पनि धारण व्यक्त गरे ।

बैंक बित्तीय संस्थामा खाता खोलेका ४ करोड ग्राहकलाई संरक्षण दिन खोज्दा बैंक वित्तीय संस्थाबाट ऋृण लिएका १८ लाख ऋणीले दबाब सिर्जना गरेको केसीको भनाइ थियो । ‘अहिले नेपालमा मात्रै ब्याजदर बढेको होईन, भारतको केन्द्रीय बैंकले पनि ०.२५ प्रतिशतले नीतिगत दर बढाएको छ । संसारका अन्य देशमा पनि ब्याजदर बढेको छ । नेपालमा पनि अन्तर्राष्ट्रिय क्षेत्रमा भएको घटनाक्रमले ब्याजदर बढेको हो,’ उनले भने । बैंक वित्तीय संस्थाले आफ्नो पुँजी भन्दा कयौं गुणा रकम सर्वसाधारणबाट लिएर कारोबार गरिरहेकाले निक्षेपकर्तालाई प्राथमिकतामा राख्नु परेको केसीको भनाइ छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै नबिल बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले बैंक वित्तीय संस्था नाफामा संचालन हुन नसके निक्षेपकर्ताकको विश्वास सिर्जना हुन नसक्ने धारणा व्यक्त गरे । ढुंगानाले पनि तत्कालै एकल बिन्दुमा ब्याजदर कायम गर्न नसकिने बताए ।