डलरको मूल्यमा नयाँ रेकर्ड, नेपाली रुपैयाँ कमजोर हुदा अर्थतन्त्र प्रभावित !
वि.सं.२०७९ जेठ ५ बिहीवार ११:२६
shares

काठमाडौं, ५ जेठ । बिहीबार डलरको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार अहिलेसम्मकै सबैभन्दा बढी मूल्य निर्धारण भएकोमा विहीबार पुनः नयाँ रेकर्ड कायम भएको हो । डलरको मूल्य अघिल्लो दिन १२४ रुपैयाँ ४१ पैसा रहेकोमा बिहीबार बढेर १२४ रुपैयाँ ४४ पैसा पुगेको हो ।
यसअघि गत बैशाख २७ गते डलरको भाउ इतिहासकै उच्च १२४ रुपैयाँ २५ पैसा कायम भएको थियो । पछिल्लो समय रुस र युक्रेनबीच चर्किएको द्वन्द्वका कारण डलरको भाउ उच्च दरले बढ्दै गएको हो । रुस र युक्रेनको युद्धका कारण भारतीय रुपैयाँ कमजोर भएको छ । भारतीय रुपैयाँसँग नेपालको स्थिर विनिमय भएका कारण पनि भारु कमजोर हुँदा नेपाली रुपैयाँ समेत कमजोर बनेको हो ।
राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो केहि दिन यता डलरको मूल्यमा लगातार बृद्धि भइरहेको छ । डलरको भाउमा भएको बृद्धिले नेपालले आयाग गर्नु पर्ने वस्तुको मूल्यमा पनि बृद्धि हुने र अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने अर्थविद डा. चन्द्रमणी अधिकारीले बताएका छन् । नेपालले आयात गर्ने बस्तुको भुक्तानी डलरमा गर्नु पर्ने भएकाले आयातीत वस्तुको भाउमा पनि बृद्धि हुनेभएकाले अर्थतन्त्रमा प्रभाव पर्ने उनले बताए ।
डलरको मूल्यमा वृद्धि हुँदा निर्यात मुखी अर्थतन्त्र भएको देशहरुलाई मात्रै फाइदा पुग्ने भएकाले नेपाल जस्तो आयातमुखी अर्थतन्त्र भएको मुलुकलाई नकारात्मक असर गर्ने अर्थविद अधिकारीले बताएका छन् । नेपालले सबै बस्तुहरु तथा सेवा आयात गर्नु पर्ने भएकाले अर्थतन्त्रलाई नोक्सान गर्ने उनको भनाई छ । ‘नेपालले इन्धन, खाद्यान्न लागयतका बस्तुहरु आयात गर्छ साथै कच्चा पदार्थहरु समेत नेपालले आयात गर्नु पर्ने भएकाले जनजीवन प्रभावित हुन्छ,’ उनले भने ।















