Dhulikhel Eco Banner new

लघुवित्त पीडितबाट पैसा मागेको हो तर त्यहिँ पैसाले स्कारपियो किनेको कुरा सत्य होइन : अध्यक्ष मनिराम ज्ञवाली

13.43K
shares

काठमाडौं, ३ साउन । लघुवित्त विरुद्धको संघर्ष समितीले विगत १७ महिनादेखि लघुविको विरुद्ध आन्दोलन गर्दै आइरहेको छ । लघुवित्तले गाउँका सोझासाझा जनतालाई ठगेको भन्दै उक्त समितीले विभिन्न ठाउँमा आन्दोलन गर्दै आएको हो ।

आन्दोलनको क्रममा लघुवित्त विरुद्धको संघर्ष समितीका अध्यक्ष मनिराम ज्ञवालीले लघुवित्त पिडितहरुसँग पैसा लिएर स्कारपियो किने भन्ने विषयलाई लिएर धेरै ले आपत्ति जनाएका छन् ।
अध्यक्ष ज्ञवालीले पनि लघुवित्तका पिडितहरुबाट पैसा लिएको स्वीकार गरेका छन् । हाल माइतीघरमा आमारण अनसनमा रहेका ज्ञवालीले केटिएम भ्वाइसँगको कुराकानीमा आन्दोलन गर्न आर्थिक समस्या परेपछि पिडितहरुबाट ५० /१०० संकलन गरेको बताएका हुन् ।

‘आर्थिक परिचालन बिना कुनैपनि आन्दोलन सम्भव छैन तर हामीले डोनेसनबाट रकम लिएर आन्दोलन गरेका छैनौं ।’ उनले भने,‘ पिडितले न्याय पाउँने आन्दोलन भएर पिडितको १००÷५० रुपैयाँ लगाएर आन्दोलन गर्दै आएका छौं ।’

उनले आफ्नो नाम बिकाएर केहि गलत मान्छेहरुले पैसा उठाएर खाएको बताएका छन् । ‘हाम्रो केन्द्रिय नितीभन्दा बाहिर गएर केहि गलत मानिसहरुले पैसा उठाएर खाएर भागेको भएरै हाम्रो बद्नाम हुन पुगेको हो’ उनले भने,‘हाम्रो बद्नाम गरेर त्यसरी पैसा उठाएर खानेहरुलाई हामीले कारबाही गर्दै आइरहेका छौं र अझै पनि फेला परेभने कारबाही गर्छौं ।’

उनले त्यो स्कारपियो आफ्नो नभएको भन्दै आक्रोश पोखे । ‘त्यो स्कारपियो मेरो हो भन्नेहरुले त्यो स्कारपियो नंम्बर र कसको नाउँमा छ भनेर मेरोसामु ल्याउँन आग्रह गर्दछु’, उनले भने ।
ज्ञवालीले आफुहरुको माग पुरा नभए आन्दोलन थप चर्काउँदै लैजाने चेतावनि समेत दिएका छन् ।

‘मनिराम सर भएर म बाँचेर यहाँसम्म आएँ’

त्यस्तै, लघुवित्तले ठगी गर्यो भन्दै आन्दोलन सुरु गरेकी शिखा रेश्मी ग्लोबल लघुवित्तले आफ्नो बचत फिर्ता नगरेको बताउँछिन् । आफुले कर्जा चुक्ता गर्दा पनि बचत फिर्ता नभएपछि आन्दोलनमा उत्रिनुपरेको उनको भनाई छ ।

‘१७ महिना भयो हामी रुँदै कराउँदै बाटोमा आएको, यसरी आन्दोलमा उत्रेपछि थाहा भयो लघुवित्तले कसरी कति मान्छेलाई पिडित बनाएको छ भन्ने कुरा’उनी भन्छिन्,‘म आत्महत्या गर्ने तयारीमा थिँए, मनिराम सरले गरेर बाचेर यहाँसम्म आएँ धेरै कुरा थाहा पाएँ ।’

प्रधानमन्त्रीले आन्दोलन नगर्न र आफुहरुको माग पुुरा गर्न तयार रहेको बेला पनि राष्ट्र बैंकका गर्भनरले नमान्दा आफुहरुले यसरी आन्दोलनमा उत्रेको उनले बताएकी छिन् । उनले साधारण आन्दोलन गर्दा सरकारले नसुनेपछि आन्दोलन बढाउँदै लैजाने तयारीमा रहेको उनको भनाइ छ ।

उनले पहिँले ऋण लिँदा नै सेवा शुल्क, बिमा शुल्क तिर्नुपर्ने कुरा थाहा नभएरै पनि लघुवित्तको ऋण लिएर गरिब झन् गरिब भएको उनको बुझाइ छ । लघुवित्तमा संलग्न हुन भन्दा पहिँलेको जीवन एकदमै राम्रो सहज रहेको उनको भनाइ छ ।