Dhulikhel Eco Banner new

विदेश भ्रमणमा जान ५ प्रतिशत कर तिर्नुपर्नेदेखि ७ लाख सदस्य थप्ने अभियानमा कांग्रेस

3.06K
shares

काठमाडौं, ३ साउन । साताको कारोबारको तेस्रो दिन आज शेयर बजारमा ९ अंकको सुधार आएको छ । आज ९ दशमलव ९१ अंकले सुधार आएर शेयर बजार परिसूचक २१५४ दशमलव ९१ विन्दुमा पुगेको छ ।मंगलबार २५५ कम्पनीका ८६ लाख ७६ हजार ४३८ कित्ता शेयर खरिद बिक्री हुँदा ३ अर्ब ५४ करोड ८८ लाख २९ हजार २९ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । आज ३ दशमलव ०४ अंकले बढेको सेन्सेटिभ इन्डेक्स ४०७ दशमलव १० विन्दुमा पुगेको छ ।

सुनको मूल्य बढ्यो, चाँहिको मूल्यमा भने स्थिरता कायम

मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ ।आज तेजावी सुनको मूल्य एक लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य तोलामा १४ सय ८० रुपैयाँमा स्थिर छ ।

सोमबार एक लाख १२ हजार २ सय रुपैयाँमा छापावाल सुन र एक लाख ११ हजार ६५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

विदेश भ्रमणमा जानेले पाँच प्रतिशत कर तिर्नुपर्ने कार्यविधि जारी

आन्तरिक राजस्व विभागले वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ । आर्थिक ऐन, २०८० को दफा २२ मा विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लाग्ने उल्लेख थियो । उक्त व्यवस्था कार्यान्वयनका लागि विभागले कार्यविधि जारी गरेको हो ।

प्याकेज बिक्रेता वा भ्रमणमा लैजाने फर्म तथा कम्पनीले यस्तो शुल्क करदाता सेवा कार्यालय, आन्तरिक राजस्व कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय र ठूला करदाता कार्यालयमा बुझाउन सक्नेछन् । कार्यविधिअनुसार शुल्क असुल गर्ने र राजस्व खातामा दाखिल गर्ने प्रयोजनका लागि स्थायी लेखा नम्बर लिएको व्यक्तिले अलग्गै दर्ता गर्नुपर्ने छैन ।

प्याकेज बिक्रेता वा भ्रमणमा लैजाने फर्म तथा कम्पनीले सङ्कलन गरेको शुल्क सम्बन्धित कार्यालयको कोड र तोकिएको राजस्व शीर्षकमा अर्को महिनाको २५ गतेभित्र दाखिल गरिसक्नुपर्ने व्यवस्था कार्यविधिमा राखिएको छ । तोकिएको समयभित्र शुल्क दाखिल नगरेमा वार्षिक दुई दशमलव पाँच प्रतिशतका दरले हुन आउने थप रकम र वार्षिक १५ प्रतिशतका दरले ब्याज लाग्नेछ ।

७ लाख सदस्य थप्ने लक्ष्यका साथ कांग्रेसले एक वर्षे अभियान चलाउने

नेपाली कांग्रेसले ५ देखि ७ लाख नयाँ सदस्य थप्ने लक्ष्यका साथ ‘घरघर जाउँ, पार्टी सदस्य बनाउँ’ अभियान चलाउने भएको छ ।पार्टी कार्यालय, सानेपामा मंगलबार सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगनकुमार थापाले २० साउन २०८० देखि ३१ असार २०८१ सम्म अभियान चलाउने प्रस्ताव राखेका हुन् ।

मंसिर–पुस २०७८ मा भएको १४ औं महाधिवेशनको समयमा कांग्रेसमा ८ लाख ६६ हजार क्रियाशील सदस्य थिए । थापाका अनुसार उनीहरुको सदस्यता साउनभित्र उपलब्ध गराइने छ भने भदौ, असोज र कात्तिकमा जिल्ला कमिटीहरुले नवीकरण गर्नेछन् । नयाँ सदस्यका लागि कांग्रेसले अनलाइन प्रणाली सुरु गरेको छ । यसलाई अझ प्रभावकारी बनाउने महामन्त्री थापाले बताए ।

काठमाडौंको फोहोर विसर्जनमा आज पनि अवरोध, भोलिदेखि फोहोर नउठ्ने

बञ्चरेडाँडाका स्थानीयले ल्यान्डफिल्ड साइटमा मंगलबार पनि फोहोर फाल्न अवरोध गरेका छन् । स्थानीयको अवरोधका कारण काठमाडौं महानगरबाट फोहोर बोकेको कुनैपनि गाडी ल्यान्डफिल्ड साइट नगएको फोहोर मैला व्यवस्थापन संघले जनाएको छ ।बञ्चरेडाँडा र सिसडोलका स्थानीयहरुले विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै नयाँ आर्थिक वर्ष सुरु भएकै दिन सोमबारदेखि फोहोर बोकेर ल्यान्डफिल साइट गएका गाडीहरुलाई बाटोमै रोकेका थिए ।

बञ्चरेडाँडा र सिसडोलका स्थानीयले फोहोर विसर्जन गर्न अवरोध गरेपछि फोहोर मैला व्यवस्थापन संघले अदालतमा रिट दर्ता गरेको थियो ।सर्वोच्च अदालतले बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न जाने टिपरसँग शुल्क उठाउने र नदिए अवरोध गर्ने स्थानीय तहको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

तर, आदेशको अवज्ञा गर्दै स्थानीयले फोहोर बोकेर जाने गाडीमा अवरोध गरेका हुन् ।संघका सचिव मित्र घिमिरेका अनुसार सोमबार र मंगलबारको फोहोर टेकु ट्रान्सफर स्टेशन र गाडीमै राखिएको छ । जसका कारण बुधबारदेखि फोहोर उठाउन समस्या हुने भएको छ ।

नेपालको शैक्षिक संस्था छाडेर व्यवस्थापन पढ्न विदेश जाने विद्यार्थीको संख्या बढ्दै

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) शाखाको अनुसार गएको आर्थिक वर्षमा सबैभन्दा धेरै व्यवस्थापन पढ्न विद्यार्थी विदेश गएका छन् ।

शाखाको तथ्यांक अनुसार गएको आर्थिक वर्ष २०७९÷०८० मा २९ हजार ७३४ जनाले व्यवस्थापन अध्ययनको लागि एनओसी लिएका छन् भने तीन हजार ९१६ जनाको आवेदन रद्द भएको छ । दोस्रो नम्बरमा जापानीज भाषा पढ्न जानको लागि २१ हजार १३१ जनाले एनओसी लिएका छन् ।