साउन महिनाका लागि पनि घटयो बैंकको निक्षेप ब्याजदर
वि.सं.२०८१ असार ३१ सोमवार ११:४७
shares

काठमाडौं, ३१ असार । वाणिज्य बैंकहरूले आगामी साउन महिनाका लागि पनि निक्षेपको ब्याजदर थप घटाएका छन् ।
सार्वजनिक सूचनामार्फत बैंकहरूले ब्याजदरसम्बन्धी जानकारी गराएका छन् । सञ्चालनमा रहेका २० मध्ये दुई बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाए भने १३ ले घटाएका छन् । बाँकी ५ बैंकको निक्षेप ब्याजदर स्थिर छ । असारमा बैंकहरुले व्यक्तिगत मुद्दतीमा दिएको औसत ब्याजदर ६.९१ प्रतिशत रहेकोमा साउनमा घटेर ६.७३ प्रतिशतमा झरेको छ ।
व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर जम्मा ७.५३ प्रतिशत कायम भएको छ । जुन एनएमबी र एनआईसी एसिया बैंकको छ । राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीच अन्तर बढीमा ५ प्रतिशतभन्दा हुन नहुने व्यवस्था गरेको छ ।
असारको तुलनामा साउनमा कृषि विकास बैंक र एभरेष्ट बैंकले ब्याजदर केही बढाएका छन् । त्यस्तै नेपाल एसबीआई, लक्ष्मी सनराइज, नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा र स्टान्डर्ड चार्टर्डले स्थिर राखेका छन् ।
यस्तै कल निक्षेपमा बचतको न्यूनतम ब्याजदरको ५० प्रतिशत मात्रै ब्याज दिन पाइने व्यवस्था छ । संस्थागत मुद्दती निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले ब्याजदर कम गर्नुपर्छ ।
यसरी ब्याजदर निर्धारण गर्दा कायम हुने अधिकतम र न्यूनतम ब्याजदरबीच अन्तर उक्त निर्देशनले तोकेको सीमाभन्दा बढी हुन गए अधिकतम वा न्यूनतममध्ये सोही एक दर कायम गरी अन्य दर समायोजन गर्नुपर्ने व्यवस्था छ ।



















