५० लाख कित्ता ऋणपत्र बिक्री गर्दै प्राइम कमर्शियल
वि.सं.२०७९ जेठ २२ आइतवार १३:२३
shares

काठमाडौं, २२ जेठ । प्राइम कमर्शियल बैंकले ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ । वार्षिक १०.१५ प्रतिशत ब्याजदर रहेको ऋणपत्र ३१ जेठदेखि खुल्ला गर्ने भएको हो ।
‘१०.१५ प्रतिशत प्राइम डिबेन्चर २०८४’ नाम दिइएको यो ऋणपत्रको अवधि ५ वर्षको हुने जनाइएको छ । प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागिएको बैंकले जनाएको छ ।
निष्कासन गरिएकामध्ये २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमा सामूहिक लगानी कोषहरुले आवेदन नदिएको बैंकले जनाएको छ । सो ऋणपत्र खरिदका लागि छिटोमा असार ३ गतेसम्ममा आवेदन दिनुपर्नेछ ।
सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार १४ गतेसम्म लम्बिन सक्ने जनाइएको छ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।

















