अनिताको उद्यमशीलता : व्यापार फस्टायो, विदेशिनु पर्ने बाध्यता हट्यो
वि.सं.२०७९ जेठ २७ शुक्रवार १०:३२
shares

काठमाडौं, २७ जेठ । मानिसको जीवनमा धेरै दुःख सुखका क्षणहरु आउँछन् । तर मानिस आत्तिनु हुँदैन् । जो मानिसले दुःखमा आत्तिन्छ र सुखमा मात्तिन्छ उसले सफलता प्राप्न गर्न निकै कठिन हुन्छ । मासिलमा जुनसुकै अवस्थामा पनि धैर्यता हुनु आवश्यक हुन्छ ।
जब मानिस केही गर्नका लागि अग्रसर बन्छ त्यसमा साथ दिने कोही पनि हुँदैनन् । अनि जब संघर्षबाट सफलता प्राप्त हुन्छ त्यसपछि सबैले उदाहरणका रुपमा हेर्छन् । उद्यमशीलताबाट सफल बनेका धेरै उदाहरणहरु छन् । उद्यमशीलताकी एक उदाहरण हुन्, गोरखाकी अनिता श्रेष्ठ । उनको सफलता अघि संघर्ष बुझ्नुपर्छ । आज भन्दा १० वर्ष अघि उनी परिवारको खुसीका लागि के गरौं भन्ने सोचमा थिइन् ।
स्वदेशमा पर्याप्त रोजगारीका अवसरहरु थिएनन् । सहज रुपमा घरचलाउन पनि धेरैलाई गाह्रो पर्छ । स्वदेशमा अवसर नपाएपछि अनिताका श्रीमान् पनि केही वर्ष अघि रोजगारीका लागि खाडी मुलुक पुगे । अनिताले स्वदेशमै केही गर्ने योजना बनाइन् । उनको योजनामा एनएमबि बैंकले साथ दियो ।
बैंकबाट ८ लाख रुपैयाँ ऋण लिएर उनले गाउँमै व्यवसाय सुरु गरिन् । व्यवसाय राम्रै फस्टायो । श्रीमान् पनि स्वदेश फर्किए । २ सन्तान साथ अहिले अनिताका दम्पत्तिको परिवार सुखी बनेको छ । व्यवसायबाट हुने आम्दानीमा पनि अनिता सन्तुष्ट छिन् । ‘अहिले त हामी सुखी छौं भन्नुपर्छ, छोराछोरीलाई राम्रोसँग पढाउनु पुगेको छ, खान राम्रै पुगेको छ’, अनिता भन्छिन्, ‘जेहोस हामी हाम्रो व्यवसायबाट सन्तुष्ट छौं ।’ अहिले महिनाको डेढलाखसम्म आम्दानी हुने गरेको उनले बताईन् ।
उनले बैंकबाट ऋण लिएर सुरुमा सिलाई कटाई (टेलर्स) सञ्चालन गरिरकी थिइन् । अहिले भने उनको व्यवसायले पनि ठूलो रुप लिएको छ । यसबाट उनले अहिले आफ्नो छोराछोरीको अध्ययनदेखि बैंकको किस्ता रकम समेत सहजै तिर्ने गरेकी छिन् ।
सुरुमा त उनलाई त्यो पसलबाट पनि घर परिवार र बालबच्चाको अध्ययन, ऋण तिर्नका लागि उनलाई निकै हम्मेहम्मे परेको थियो । तर उनले हरेस खाइनन् । श्रीमानको समेत साथ र हौसलाले उनी अझै अगाडि बढिन् । जसबाट उनले अहिले सफलता पनि प्राप्त गरिरहेकि छिन् ।
दिनरातको मेहनतले अहिले आम्दानी राम्रै भइरहेको उनले सुनाइन् । श्रीमानले पनि अहिले व्यवसायमा सहयोग गरिरहेको र सहज रुपमा व्यवसाय सञ्चाल गरिरहेको उनको भनाई छ । व्यवसायबाट आफू खुसी रहेको श्रेष्ठले सुनाइन् ।
आफू उद्यमशील, अरुलाई रोजगारी
मेहनत गरे अवश्य फल भइन्छ भन्ने उदाहरण बनेकी छिन् अनिता । उनले कपडा किनेर ल्याएर बेच्ने अर्थात व्यापार मात्रै होइन उद्यम गर्छिन । उनको डल, खेलौना, टोपि, अन्य ह्याण्डिक्राफ्टहरु समेत उत्पादन गर्ने गरेकी छिन् ।

उनले बनाएका सामानहरु अन्य पसलले किनेर समेत लैजाने गरेका छन् । बैंकले ऋण पत्याएपछि उद्यममा लागेकी अनिता आफू र आफ्नो परिवारलाई उद्यमशील बनाइन् । उनी आफूमात्रै स्वरोजगार बनेकी छैनन्, अन्यलाई रोजगारीको अवसर समेत दिएकी छिन् ।
उनको पसलमा आधा दर्जनले रोजगारीको अवसर पाएका छन् । कपडा सिलाई, डल खेलौना बनाउने लगायतका कामहरु छन् । ‘यहाँ स्थानीइ बहिनीहरुलाई रोजगारी समेत दिएकी छु, उहाँहरुका लागि पनि राम्रै छ’ अनिता भन्छिन्, ‘व्यवसायबाट असन्तुष्ट हुनुपर्ने ठाउँ नै छैन, मैले आफूसँगै अन्यलाई खुसी नै बनाएको छु भन्ने लाग्छ ।’
उद्यम आफ्नै घरमा भएका कारण उनले घरभाडा भने तिर्नु पर्दैन । बैंकको किस्ता वापतको रकम हरेक महिना १५ हजार भन्दा माथि बुझाउनुपर्छ । दुई सन्तानहरु निजी विद्यालयमा पढ्छन् । ‘परिवारसँगै बस्न पाइएको छ, व्यवसाय राम्रो चलेकाले म र मेरो परिवार सन्तुष्ट छौं’ अनिता भन्छिन् ।



















