Dhulikhel Eco Banner new

कोशी प्रदेशमा कर्जा लगानी घट्यो, औद्योगिक क्षेत्रमा भने वृद्धि

1.66K
shares

काठमाडौं, ११ असार । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार कोशी प्रदेशमा कर्जा लगानीमा उल्लेखनीय गिरावट देखिएको छ। आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा कर्जा लगानी १०.२ प्रतिशतले घटेर ५ खर्ब ८६ अर्ब रुपैयाँमा झरेको छ।

तर, निक्षेप परिचालन भने ३.६ प्रतिशतले वृद्धि भई ४ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ। राष्ट्र बैंकको ‘कोशी प्रदेशको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन’मा यो विवरण उल्लेख गरिएको हो।

प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट सेवा क्षेत्रमा सबैभन्दा बढी ६५.१ प्रतिशत कर्जा प्रवाह भएको छ। त्यस्तै, औद्योगिक क्षेत्रमा २५.२ प्रतिशत र कृषि क्षेत्रमा ९.५ प्रतिशत कर्जा प्रवाह भएको छ। अघिल्लो वर्षको यही अवधिमा सेवा क्षेत्रमा ६५.५, औद्योगिक क्षेत्रमा २४.१ र कृषि क्षेत्रमा १०.४ प्रतिशत कर्जा लगानी भएको थियो।

कुल कर्जा लगानी घटे पनि औद्योगिक क्षेत्रमा भने लगानी ५.६ प्रतिशतले वृद्धि भएको देखिएको छ। यो क्षेत्रमा हाल १ खर्ब ४७ अर्ब ४७ करोड रुपैयाँ कर्जा लगानी भएको छ। साथै, उद्योगहरूको औसत क्षमता उपयोग पनि उल्लेखनीय रूपमा सुधारिएको छ।

गत वर्षको पहिलो ६ महिनामा ४१.७ प्रतिशत रहेको औसत क्षमता उपयोग यस वर्ष ४८.६ प्रतिशत पुगेको छ। सबैभन्दा बढी वृद्धि भटमास तेल उत्पादनमा देखिएको छ । जसको उत्पादन ६४१.१ प्रतिशतले बढेको छ।