Dhulikhel Eco Banner new

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

18.75K
shares

काठमाडौं, १४ पुस । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा पुस १४ गते विराटनगरस्थित होटल एअरपोर्टमा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष उदिप श्रेष्ठको सभापतित्वमा सम्पन्न सभामा शेयरधनी तथा आमन्त्रित अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

साधारण सभामा कम्पनीले आ.व. २०८१/०८२ मा बीमा क्षेत्रमै सबैभन्दा पहिला साधारण सभा सम्पन्न गरेको उल्लेख गर्दै, सर्वसाधारणमा शेयर जारी गरेपछिको पहिलो साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ । अध्यक्ष श्रेष्ठले कम्पनीलाई हालको अवस्थासम्म पुर्‍याउन सहयोग गर्ने शेयरधनी, बीमित, अभिकर्ता, कर्मचारी, पुनर्बीमा कम्पनी तथा नियामक निकायप्रति धन्यवाद व्यक्त गरे ।

सभामा कम्पनीको आ.व. २०८१/०८२ को वित्तीय विवरणसहित वार्षिक प्रतिवेदन, सञ्चालक समितिको प्रतिवेदन तथा अन्य प्रस्तावहरू पारित गरिएको कम्पनीले जनाएको छ । प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले कम्पनीको प्रगति विवरण र आगामी कार्ययोजना प्रस्तुत गर्दै स्थापना कालको तेस्रो वर्षमै ४ करोड ७ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गर्न सफल भएको जानकारी दिए । उनले कम्पनीलाई लघु जीवन बीमा क्षेत्रमा अब्बल बनाउँदै शेयरधनीलाई उचित प्रतिफल दिन प्रतिबद्ध रहेको बताए ।

विशेष अतिथिका रूपमा उपस्थित नेपाल बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख प्रितिदेवले कम्पनीको सफलताको शुभकामना व्यक्त गरे । साधारण सभाबाट कम्पनीका सबै सामान्य तथा विशेष प्रस्तावहरू सर्वसम्मत रूपमा पारित भएका छन् । यसैगरी सर्वसाधारण शेयरधनीको तर्फबाट रिक्त सञ्चालक पदमा नवराज मुडभरीको नियुक्ति अनुमोदन गरिएको छ । सभाले कम्पनीको हालको चुक्ता पुँजी ७५ करोड रुपैयाँ बराबरको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि नियामक निकायको स्वीकृति पश्चात् कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको छ । साधारण सभाको कार्यक्रम सञ्चालन कम्पनी सचिव ज्योति प्रकाश पाण्डेले गरेका थिए ।