Dhulikhel Eco Banner new

एभरेष्ट बैंकले ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल नियुक्त

2.02K
shares

काठमाडौं, ३ चैत । एभरेष्ट बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । उक्त ऋणपत्रको बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको बैंकले जनाएको छ ।

बैंकले “एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८८” नामक ऋणपत्र जारी गर्न लागेको हो । प्रति कित्ता एक हजार रुपैयाँ अंकित मूल्यका दरले कुल ३० लाख युनिट ऋणपत्र बिक्री गरिनेछ ।

जारी हुने कुल ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात एक अर्ब २० करोड रुपैयाँ बराबरका १२ लाख युनिट सर्वसाधारणका लागि छुट्याइएको छ भने बाँकी ६० प्रतिशत अर्थात एक अर्ब ८० करोड रुपैयाँ बराबरका १८ लाख युनिट व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ ।

६ वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ६.२५ प्रतिशत ब्याजदर प्रदान गरिनेछ । ब्याज भुक्तानी अर्धवार्षिक रूपमा, प्रत्येक ६–६ महिनामा गरिने व्यवस्था गरिएको छ ।

ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धसम्बन्धी सम्झौतामा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र लक्ष्मी सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । बैंकले उक्त जानकारी विज्ञप्तिमार्फत सार्वजनिक गरेको हो ।