Dhulikhel Eco Banner new

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर र देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न

884
shares

काठमाडौं, २३ वैशाख । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको २५औं वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर तथा देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

कम्पनीले वैशाख २१ र २२ गते प्रधान कार्यालय परिसरमा सञ्चालन गरेको दुई दिने स्वास्थ्य शिविरबाट कुल ६०१ जनाले सेवा लिएका छन्। शिविरमा इसिजी, थाइराइड, सुगर, रक्तचाप, एसजिपिटी, कोलेस्ट्रोल, युरिक एसिडलगायतका परीक्षण निःशुल्क गरिएको थियो भने विशेषज्ञ चिकित्सकबाट परामर्श सेवा पनि उपलब्ध गराइएको थियो।

यससँगै कम्पनीले देशभरका सातै प्रदेशका १३ स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो। जसअन्तर्गत कोशीको इटहरीमा ३०, मधेशको वीरगञ्ज र जनकपुरमा २५/२५, बागमतीको काठमाडौँमा ७८, नारायणगढमा ८१, नुवाकोटमा ३९, हेटौंडामा २६, बनेपामा ३२, गण्डकीको पोखरामा ५५, लुम्बिनीको बुटवलमा ३३, भैरहवामा ३४, कर्णालीको सुर्खेतमा २५ र सुदूरपश्चिमको धनगढीमा ३३ पिन्ट गरी कुल ५०५ पिन्ट रगत संकलन गरिएको कम्पनीले जनाएको छ।

“किनकि जीवन अमूल्य छ” भन्ने नारालाई आत्मसात् गर्दै कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रम आयोजना गरेको जनाएको छ। करिब ३० प्रतिशत बजार हिस्सा ओगटेको कम्पनीले विगत २५ वर्षमा करिब ५४ लाख परिवारको विश्वास जित्दै आएको दाबी गरेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै कम्पनीलाई मार्गदर्शन गर्ने सञ्चालक समिति, शेयरधनी, ग्राहक, अभिकर्ता, कर्मचारी तथा सरोकारवालाप्रति आभार व्यक्त गरेका छन्। उनले आगामी दिनमा पनि सबैको विश्वास र सहकार्य निरन्तर रहने अपेक्षा व्यक्त गरे।

देशभर ७७ जिल्लामा शाखा सञ्जाल र ६९ हजारभन्दा बढी अभिकर्तामार्फत सेवा प्रदान गर्दै आएको कम्पनीले बीमा क्षेत्रमा विश्वसनीयता र पहुँच विस्तार गर्दै आएको जनाएको छ।