‘द गोल इज ग्रीन’ अभियानमा लक्ष्मी सनराइज बैंकको सहकार्य
वि.सं.२०८३ साउन ४ सोमवार १४:२८
shares

काठमाडौं, ४ साउन । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाउँदै लक्ष्मी सनराइज बैंकले आफ्नो प्रमुख वातावरणीय अभियान ‘द गोल इज ग्रीन’ कार्यान्वयनका लागि डब्लुडब्लुएफ नेपाललाई प्राविधिक संरक्षण साझेदारका रूपमा आबद्ध गरेको छ।
यस अभियानअन्तर्गत सन् २०२६ को फिफा विश्वकप फुटबल प्रतियोगिताका सम्पूर्ण खेलमा हुने प्रत्येक गोल बराबर एक वटा रूख रोप्ने प्रतिबद्धता बैंकले गरेको थियो। विश्वकै सबैभन्दा लोकप्रिय खेल प्रतियोगिताको उत्साहलाई वातावरण संरक्षणसँग जोड्दै नेपालमा दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना गर्ने उद्देश्यसहित यो अभियान सञ्चालन गरिएको हो।
‘द गोल इज ग्रीन’ अभियानले विश्वव्यापी खेलकुदको रोमाञ्चलाई स्थानीय स्तरको जलवायु तथा वातावरणीय संरक्षणसँग जोड्ने लक्ष्मी सनराइज बैंकको सोचलाई प्रतिबिम्बित गर्छ। आकारका हिसाबले अभियान सीमित भए पनि वैज्ञानिक योजना तथा स्थानीय समुदायसँगको सहकार्यमा कार्यान्वयन गर्दा निजी क्षेत्रको लगानीले वातावरणीय पुनःस्थापनामा प्रभावकारी योगदान दिन सक्ने उदाहरणका रूपमा यसलाई लिइएको छ।
यस सहकार्यअन्तर्गत डब्लुडब्लुएफ नेपालले अभियानको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनेछ। संरक्षण क्षेत्रमा हासिल गरेको लामो अनुभव र विशेषज्ञताका आधारमा डब्लुडब्लुएफ नेपालले लक्ष्मी सनराइज बैंकलाई आफ्नो स्थानीय संरक्षण साझेदार काम्दी सामुदायिक वन समन्वय समिति काम्दी सीएफसीसी सँग जोडेको हो।
काम्दी सामुदायिक वन समन्वय समितिले उपयुक्त स्थानमा स्थानीय जैविक विविधताअनुकूल रैथाने प्रजातिका बिरुवा रोप्नुका साथै तिनको दीर्घकालीन संरक्षण र व्यवस्थापन गर्नेछ। डब्लुडब्लुएफ नेपालले भने प्रजाति छनोट, रोपाइँका लागि उपयुक्त क्षेत्रको पहिचान तथा पारिस्थितिकीय अनुकूल पुनःस्थापनासम्बन्धी प्राविधिक मार्गदर्शन प्रदान गर्नेछ, जसले अभियानको दीर्घकालीन वातावरणीय प्रभाव सुनिश्चित गर्न सहयोग पुर्याउनेछ।
लक्ष्मी सनराइज बैंकको दिगोपनप्रतिको प्रतिबद्धता, डब्लुडब्लुएफ नेपालको प्राविधिक दक्षता तथा काम्दी सामुदायिक वन समन्वय समितिको समुदायमा आधारित संरक्षण अनुभवलाई एकीकृत गर्दै ‘द गोल इज ग्रीन’ अभियानले विद्यमान संरक्षण प्रयासलाई थप सशक्त बनाउने, जैविक विविधताको संरक्षणमा योगदान पुर्याउने तथा वन संरक्षणमा समुदायको दीर्घकालीन सहभागिता अभिवृद्धि गर्ने लक्ष्य लिएको छ।
यस साझेदारीबारे लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाहले भन्ने,“लक्ष्मी सनराइज बैंकमा दिगोपन केवल हाम्रो रणनीतिक प्राथमिकता मात्र होइन, दीर्घकालीन मूल्य सिर्जनाको आधार पनि हो। ‘द गोल इज ग्रीन’ अभियानले सामूहिक उत्साहलाई सार्थक जलवायु अभियानमा रूपान्तरण गर्न सकिन्छ भन्ने हाम्रो विश्वासलाई उजागर गर्छ।
फिफा विश्वकप २०२६ मा हुने प्रत्येक गोल बराबर एक रूख रोप्ने हाम्रो प्रतिबद्धतामार्फत नेपालका लागि दीर्घकालीन वातावरणीय योगदान गर्ने अपेक्षा गरेका छौँ। डब्लुडब्लुएफ नेपालको संरक्षणसम्बन्धी विशेषज्ञता र समुदायसँगको अनुभवले यस अभियानलाई प्रभावकारी र दिगो बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्नेमा हामी विश्वस्त छौँ।”
पारिस्थितिकीय पुनःस्थापनामा वैज्ञानिक दृष्टिकोणको महत्त्वबारे प्रकाश पार्दै डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा.घनश्याम गुरुङले भन्ने,“वन पुनःस्थापना भनेको केवल रूख रोप्नु मात्र होइन।
उपयुक्त स्थानमा उपयुक्त रैथाने प्रजातिका बिरुवा रोप्नु र तिनको दीर्घकालीन संरक्षणका लागि स्थानीय समुदायसँग सहकार्य गर्नु पनि त्यत्तिकै आवश्यक छ। यस्ता साझेदारीहरूले निजी क्षेत्रको लगानीलाई समुदायमा आधारित संरक्षणसँग जोड्दै प्रकृति, समुदाय र भविष्यका लागि दीर्घकालीन लाभ सिर्जना गर्न सक्ने सम्भावना देखाउँछन्।”
यस सहकार्यप्रति आभार व्यक्त गर्दै काम्दी सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेन्द्र शाहीले भन्ने“लक्ष्मी सनराइज बैंक र डब्लुडब्लुएफ नेपालसँगको यो सहकार्यले जैविक मार्ग कोरिडोर पुनःस्थापनासम्बन्धी हाम्रो प्रयासलाई थप बल पुर्याउनेछ र स्थानीय समुदायलाई दीर्घकालीन रूपमा लाभ पुग्ने विश्वास लिएका छौँ। यसका लागि हामी दुवै संस्थाप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।”
‘द गोल इज ग्रीन’ अभियानमार्फत लक्ष्मी सनराइज बैंकले दिगोपन केवल आफ्ना वित्तीय सेवा वा उत्पादनमा सीमित नरही सामाजिक तथा वातावरणीय उत्तरदायित्वसँग पनि प्रत्यक्ष रूपमा जोडिएको सन्देश दिन खोजेको छ।
विश्वकै प्रतिष्ठित फुटबल प्रतियोगितालाई समुदायमा आधारित वातावरणीय पुनःस्थापनासँग जोड्दै बैंकले ग्राहक, व्यवसाय तथा समुदायलाई सामूहिक जलवायु अभियानमा सहभागी हुन प्रेरित गर्नुका साथै नेपालको दीर्घकालीन वातावरणीय सुदृढीकरणमा योगदान पुर्याउने अपेक्षा गरेको छ।
फिफा विश्वकप २०२६ सम्पन्न भएसँगै प्रतियोगिताभर भएका ३३३ गोल बराबर ३३३ वटा रैथाने बिरुवा रोप्ने आफ्नो प्रतिबद्धता लक्ष्मी सनराइज बैंकले पूरा गरेको छ। यससँगै प्रत्येक गोललाई नेपालको हरित भविष्यसँग जोड्ने अभियानलाई सफलतापूर्वक सम्पन्न गरेको बैंकले जनाएको छ।



















