Dhulikhel Eco Banner new

मौलापुर नगरपालिकामा निलम कुमार न्यौपानेले सम्हाले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

2.94K
shares

रौतहट, ४ साउन । रौतहटको मौलापुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी उपसचिव निलम कुमार न्यौपानेले सोमबार सम्हालेका छन्।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको असार २६ गतेको निर्णयअनुसार गरुडा नगरपालिकाबाट सरुवा भई मौलापुर आउनुभएका न्यौपानेले सोमबार पदभार ग्रहण गररेका हुन्। नगरपालिकाको कार्यालय, पतौरामा आयोजित कार्यक्रममा नगर प्रमुख रीना साहले उनलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे।

न्यौपाने मौलापुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा जिम्मेवारी सम्हाल्ने छैटौँ कार्यालय प्रमुख हुन्। उनले पदभार ग्रहणसँगै नगरपालिकाको प्रशासनिक नेतृत्व सम्हाल्दै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र कानुनसम्मत ढंगबाट अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको नगरपालिकाले जनाएको छ।

यसअघि वैशाख ३ गते मौलापुर नगरपालिकामा हाजिर हुनुभएका उपसचिव सुरेश बाबु घिमिरेले करिब तीन महिनासम्म प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निर्वाह गरेका थिए। कार्यकालका क्रममा उनले विभिन्न प्रशासनिक चुनौती तथा कार्यगत दबाबका बीच नगरपालिकाको प्रशासन सञ्चालन गर्नुभएको थियो। मन्त्रालयको सरुवा निर्णयपछि उहाँको स्थानमा न्यौपानेले जिम्मेवारी सम्हालेका हुन् ।

स्थानीय सरकार सञ्चालनमा प्रमुख प्रशासकीय अधिकृतको भूमिका महत्त्वपूर्ण मानिने भएकाले नवआगन्तुक अधिकृतको नेतृत्वमा नगरपालिकाको प्रशासनिक कार्यसम्पादन र सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।