Dhulikhel Eco Banner new

बाँदर आतंक रोक्ने प्रविधि बनाउँदै ‘इनोभिजन’ बन्यो बिल्ड नेपाल ह्याकाथन–२०२६ को विजेता

611
shares

काठमाडौं, १८ साउन । ग्रामीण क्षेत्रमा बढ्दो बाँदर आतंकबाट किसानका बाली जोगाउने प्रविधिमा आधारित समाधान प्रस्तुत गर्दै ‘इनोभिजन’ टोली मिड–भ्याली इन्टरनेसनल कलेजद्वारा आयोजित ‘बिल्ड नेपाल ह्याकाथन–२०२६’ को विजेता बनेको छ।

‘बिल्ड टुडे, ट्रान्सफर्म टुमोरो’ नारासहित अगस्ट १ र २ मा काठमाडौंस्थित मिड–भ्याली इन्टरनेसनल कलेजमा सम्पन्न दुईदिने ह्याकाथनमा सनवे कलेजका विद्यार्थी समृद्धि डुम्रे, ग्रिस्मा कार्की, प्राची मगर र प्रिन्स केसी सम्मिलित ‘इनोभिजन’ टोलीले उत्कृष्ट प्रदर्शन गर्दै ५० हजार रुपैयाँसहित ग्रान्ड प्राइज जित्यो।

टोलीले ग्रामीण क्षेत्रमा किसानले वर्षौंदेखि भोग्दै आएको बाँदर आतंकको समस्यालाई प्रविधिको प्रयोगमार्फत समाधान गर्ने अवधारणा प्रस्तुत गरेको थियो।

यस्तै, डिजिटल प्रविधिमार्फत यातायात व्यवस्थापनलाई थप प्रभावकारी बनाउने समाधान विकास गरेको मिड–भ्याली इन्टरनेसनल कलेजका विद्यार्थी शिशिर न्यौपाने, स्वीकृति तिमिल्सिना र आदित्य भण्डारी सम्मिलित ‘सेन्टिनाज’ टोली दोस्रो हुँदै २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भयो।

ह्याकाथनमा १६ देखि २४ वर्ष उमेर समूहका ६० भन्दा बढी युवाले २१ वटा बहुविषयगत टोली बनाएर सहभागिता जनाएका थिए। सहभागीहरूले कृत्रिम बौद्धिकता ९एआई०, इन्टरनेट अफ थिङ्स ९आईओटी०, रोबोटिक्स र क्लाउड कम्प्युटिङको प्रयोग गर्दै नेपालको वास्तविक समस्या समाधान गर्ने कार्यात्मक नमुना ९प्रोटोटाइप० तथा न्यूनतम व्यवहार्य उत्पादन ९एमभीपी० तयार गरेका थिए।

प्रतिस्पर्धा स्मार्ट सिटी, स्मार्ट कृषि, शिक्षा, पर्यटन तथा सम्पदा, साइबर सुरक्षा र डिजिटल अर्थतन्त्र गरी छ वटा विषयगत क्षेत्रमा केन्द्रित थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मिड–भ्याली इन्टरनेसनल कलेजकी प्रबन्ध निर्देशक रीतल राणाले विद्यार्थीका सिर्जनात्मक सोचलाई व्यवहारमा उतार्न यस्ता ह्याकाथन प्रभावकारी माध्यम बनेको बताइन्। उनका अनुसार राम्रो आइडियाले मात्र पुग्दैन, त्यसलाई प्रस्तुत र कार्यान्वयन गर्न सक्ने क्षमता पनि उत्तिकै आवश्यक हुन्छ।

बीआईटी कार्यक्रमका प्रबन्धक सुदीपलाल बजिमयाले सैद्धान्तिक ज्ञान र व्यावहारिक सीपबीचको दूरी कम गर्नु ह्याकाथनको मुख्य उद्देश्य रहेको बताए। उनले अधिकांश टोलीले एआईमा आधारित परियोजना विकास गरेको उल्लेख गर्दै नेपालको शिक्षा प्रणाली र पाठ्यक्रममा एआईलाई प्राथमिकताका साथ समावेश गर्नुपर्ने धारणा राखे।

ह्याकाथनका निर्णायक तथा टेक उद्यमी साजन शर्माले विद्यार्थीले प्रस्तुत गरेका परियोजनाहरू उच्च सम्भावना बोकेका रहेको भन्दै बदलिँदो प्रविधिसँग आफूलाई निरन्तर अद्यावधिक गर्नुपर्नेमा जोड दिए।

आईएमई खल्ती लिमिटेडका सहसंस्थापक तथा निर्देशक अमित अग्रवालले कुनै पनि समस्याको दीर्घकालीन समाधानका लागि त्यसको वास्तविक कारण पहिचान गर्नुपर्ने सुझाव दिए। उनले युवालाई परम्परागत सोचभन्दा फरक ढंगले सोच्दै नवप्रवर्तनमा केन्द्रित हुन आग्रह गरे।

ह्याकाथनका क्रममा सूचना प्रविधि क्षेत्रका आठ जना विज्ञ तथा मेन्टरले सहभागी टोलीलाई प्रत्यक्ष मार्गदर्शन गरेका थिए। अन्तिम चरणमा सहभागी टोलीहरूले आफ्ना एमभीपी निर्णायकमण्डलसमक्ष प्रस्तुत गरेका थिए।

अल्फा बिटा, जेनेसे, भायानेट, दामी एक्सपिरियन्स, पिनाकिन टेक्नोलोजिज र प्रोशोर नेपाल प्रालिलगायतका संस्थाको सहकार्यमा सम्पन्न ह्याकाथनले युवा प्रतिभालाई प्रविधिमार्फत नेपालको वास्तविक समस्या समाधानतर्फ प्रेरित गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ।

ज्ञानेश्वरस्थित मिड–भ्याली इन्टरनेसनल कलेजले सूचना प्रविधि, व्यवस्थापन र हस्पिटालिटीका स्नातक कार्यक्रम सञ्चालन गर्दै आएको छ। कलेजले उद्योगमैत्री र व्यावहारिक शिक्षामार्फत विद्यार्थीलाई प्रविधि, नेतृत्व र नवप्रवर्तनका क्षेत्रमा सक्षम बनाउने लक्ष्य लिएको जनाएको छ।