Dhulikhel Eco Banner new

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

936
shares

काठमाडौं, १५ कार्तिक। एनएमबी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा २७.११ प्रतिशतले बढाएको छ। बैंकले समीक्षा अवधिमा १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ९१ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। गत वर्षको तुलनामा नाफामा भएको वृद्धिसँगै बैंकको वार्षिकीकरण गरिएको प्रतिशेयर आम्दानी (ईपीएस) पनि २५.४२ प्रतिशतले बढेर २३ रुपैयाँ ८३ पैसा पुगेको छ।

बैंकको प्रतिशेयर वितरणयोग्य नाफामा समेत उल्लेख्य सुधार देखिएको छ। वार्षिकीकरण गरिएको प्रतिशेयर वितरणयोग्य नाफा ४३.८८ प्रतिशतले बढेर ११ रुपैयाँ ६४ पैसा पुगेको छ।

समीक्षा अवधिमा बैंकको कर्जा तथा निक्षेप दुवैमा वृद्धि भएको छ। बैंकको कुल कर्जा ८ अर्ब ९ करोड रुपैयाँले बढेर २ खर्ब ७६ अर्ब ४ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, कुल निक्षेप ६ अर्ब ३ करोड रुपैयाँले वृद्धि भई ३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ। बैंकको कुल कर्जा वृद्धिदर बैंकिङ उद्योगको औसत वृद्धिदरभन्दा माथि रहेको छ।

बैंकको खराब कर्जा अनुपातमा पनि सामान्य सुधार देखिएको छ। अघिल्लो त्रैमासमा ४.९७ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ४.९२ प्रतिशतमा झरेको छ। यसले बैंकको कर्जा गुणस्तरमा सुधार आएको संकेत गर्छ।

यसैगरी, बैंकको सञ्चालन नाफा २६.१७ प्रतिशतले बढेर १ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ। सम्भावित कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याइएको इम्पेयरमेन्ट चार्ज भने २९.६६ प्रतिशतले घटेर ५० करोड २१ लाख ८० हजार रुपैयाँमा सीमित भएको छ।

बैंकको पुँजी कोष अनुपात १२.५३ प्रतिशत रहेको छ। यसले बैंकको पुँजीगत अवस्था, वित्तीय स्थायित्व तथा दिगो बैंकिङ अभ्यासप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने बैंकले जनाएको छ।