Dhulikhel Eco Banner new

नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा सिद्धार्थ बैंकको एन–ट्याग सेवा सुरु

676
shares

काठमाडौं, ११ मंसिर । सिद्धार्थ बैंक लिमिटेडले सडक बोर्ड नेपाल (आरबीएन) सँगको सहकार्यमा नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा गुड्ने निजी तथा व्यावसायिक चारपाङ्ग्रे सवारीसाधनका लागि ‘एन–ट्याग’ सेवा सञ्चालनमा ल्याएको छ ।

सवारीसाधनको अगाडिको सिसामा टाँसिने विद्युतीय (आरएफआईडी) स्टिकरको माध्यमबाट टोल बुथमा नरोकिई तोकिएको एन–ट्याग लेनबाट सिधै स्वचालित रूपमा टोल शुल्क भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । यसले टोल बुथमा लामो समय कुर्नुपर्ने झन्झट हटाउनुका साथै समय र इन्धन बचत गर्न तथा यात्रालाई पूर्ण रूपमा नगदरहित र छरितो बनाउन सहयोग पुग्नेछ ।

एन–ट्याग दर्ता तथा सक्रिय गर्ने प्रक्रिया

ग्राहकले अनलाइन आवेदन भरेर नजिकैको सिद्धार्थ बैंकको शाखाबाट एन–ट्याग प्राप्त तथा सक्रिय गर्न सक्नेछन् ।

यसका लागि सर्वप्रथम सडक बोर्ड नेपालको पोर्टल https://rbn.org.np मा गई ‘Sign Up’ मार्फत व्यक्तिगत (Individual) वा संस्थागत (Organization) विकल्प छनोट गर्नुपर्नेछ । त्यसपछि मोबाइल नम्बर र इमेल राखी इमेलमा प्राप्त भेरिफिकेसन कोड प्रविष्ट गरी पासवर्ड सेट गर्नुपर्नेछ ।

व्यक्तिगत दर्ताका लागि पूरा नाम, ठेगाना, सम्पर्क विवरण तथा आधिकारिक परिचयपत्र (नागरिकता, राष्ट्रिय परिचयपत्र वा राहदानी) को स्पष्ट प्रतिलिपि अपलोड गर्नुपर्नेछ । संस्थागत दर्ताका लागि संस्थाको नाम, ठेगाना, सम्पर्क नम्बर, आधिकारिक प्रतिनिधिको विवरण, संस्था दर्ता प्रमाणपत्र तथा प्यान र भ्याट (PAN/VAT) प्रमाणपत्र अपलोड गर्नुपर्नेछ ।

त्यसपछि पोर्टलमा लगइन गरी ‘Vehicle Registration’ मा गएर ब्लुबुकअनुसारको सवारी विवरण तथा ब्लुबुकको प्रतिलिपि अपलोड गरी आवेदन पेस गर्नुपर्नेछ ।

आवेदन पेस गरेपछि प्राप्त हुने आवेदन दर्ता नम्बर (Submission No.) सहितको पीडीएफ फाइल डाउनलोड गर्नुपर्नेछ । उक्त कागजातसहित व्यक्तिगत दर्ताका लागि सक्कल नागरिकता वा परिचयपत्र, ब्लुबुक र पासपोर्ट साइजको फोटो तथा संस्थागत दर्ताका लागि संस्था दर्ता प्रमाणपत्र, प्यान र भ्याट प्रमाणपत्र, ब्लुबुक र आधिकारिक प्रतिनिधिको परिचयपत्र लिएर नजिकैको सिद्धार्थ बैंकको शाखामा जानुपर्नेछ ।

बैंकले कागजात रुजु गरी सवारी नम्बरमा एन–ट्याग आबद्ध गरेर भौतिक स्टिकर प्रदान गर्नेछ । त्यसपछि पुनः पोर्टलमा लगइन गरी ‘Activate Tag’ विकल्पमार्फत ट्याग सक्रिय गर्नुपर्नेछ र उक्त स्टिकर सवारीसाधनको अगाडिको सिसामा टाँस्नुपर्नेछ ।

त्यसैगरी, ग्राहकले बैंकको मोबाइल बैंकिङ (BankSmartXP) मार्फत घरमै बसेर सहजै एन–ट्याग रिचार्ज गर्न सक्नेछन् । साथै सडक बोर्ड नेपालको मोबाइल एप तथा पोर्टलबाट आफ्नो मौज्दात (Balance) र कारोबार विवरणसमेत हेर्न सकिनेछ ।

एउटा एन–ट्याग एउटा निश्चित सवारीसाधनका लागि मात्र प्रयोग गर्न मिल्नेछ । टोल लेन प्रयोग गर्नुअघि आफ्नो एन–ट्यागमा पर्याप्त ब्यालेन्स रहेको सुनिश्चित गर्नुपर्नेछ ।

यस सेवाको प्रयोगले डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन हुनुका साथै निकट भविष्यमा सञ्चालनमा आउने देशभरका विद्युतीय टोल (ETC) युक्त राजमार्गहरूमा सर्वसाधारणको यात्रा थप व्यवस्थित, छरितो र सुरक्षित बन्ने विश्वास बैंकले लिएको छ ।

थप जानकारी तथा सहयोग

थप जानकारी वा सहयोगका लागि ग्राहकले नजिकैको सिद्धार्थ बैंकको शाखा कार्यालय, बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ०१–५९७००२०० वा इमेल [email protected] मार्फत सम्पर्क गर्न सक्नेछन् ।