राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्दै, ६१ दिनका लागि निक्षेप संकलन गर्ने
वि.सं.२०८३ मंसिर ११ शुक्रवार ११:४०
shares

काठमाडौं, ११ मंसिर । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रहेको अधिक तरलता व्यवस्थापन गर्न आज ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ ।
राष्ट्र बैंकले आज प्रकाशित सूचनामार्फत बोलकबोल प्रक्रियाबाट ६१ दिनका लागि उक्त रकम संकलन गर्न लागेको जनाएको छ । यसका लागि मंसिर ११ गते दिउँसो २ बजे अनलाइन बोलकबोल प्रणालीमार्फत आवेदन दिन सकिनेछ ।
निक्षेप संकलनको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ । बोलकबोलका लागि न्यूनतम रकम १० करोड रुपैयाँ तोकिएको छ । त्यस्तै, अधिकतम रकम १० करोड रुपैयाँको गुणनमा कुल निष्कासन रकमको सीमाभित्र रहने गरी तोकिएको छ । संस्थाहरूले भने घोषित कुल रकमको सीमाभित्र रहेर एकभन्दा बढी बोलकबोल पेस गर्न सक्नेछन् ।
राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्रै उक्त बोलकबोल प्रक्रियामा सहभागी हुन पाउनेछन् ।
यसरी संकलन गरिएको निक्षेपको साँवा तथा ब्याज आगामी २०८३ माघ १३ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।















