Dhulikhel Eco Banner new

नेप्सेमा नयाँ बेन्चमार्क इन्डेक्स आउँदै, मंसिर मसान्तभित्रै सञ्चालनमा ल्याउने तयारी

676
shares

काठमाडौं, ११ मंसिर । नेपालको धितोपत्र बजारमा नयाँ बेन्चमार्क सूचकांक (इन्डेक्स) सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले २०८३ मंसिर मसान्तभित्र ‘नेप्से बेन्चमार्क इन्डेक्स’ (एनबीआई) सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

धितोपत्र बजारको विद्यमान सूचकांकलाई पुनर्संरचना गर्ने नेपाल धितोपत्र बोर्ड (सेबोन) को ढाँचाअनुसार नयाँ सूचकांक विकास भइरहेको छ । हाल तयार भइरहेको तथ्यांक संकलनसम्बन्धी आधिकारिक म्यानुअल तयार भएपछि यसको परीक्षण चरण सुरु हुनेछ । परीक्षण सफल भएपछि नेप्से, सेबोन र अर्थ मन्त्रालयबीच बैठक बसेर एनबीआई सञ्चालनमा ल्याउने विषयमा निर्णय गरिनेछ ।

नयाँ एनबीआई प्रणालीले सूचीकृत कम्पनीको कुल बजार पुँजीकरणका आधारमा नभई बजारमा वास्तविक रूपमा कारोबारका लागि उपलब्ध शेयरका आधारमा बजारको अवस्था मापन गर्नेछ । यसअन्तर्गत संस्थापक, सरकार, लकइन अवधिमा रहेका म्युचुअल फन्ड तथा कारोबारमा प्रतिबन्धित शेयरलाई सूचकांक गणनामा समावेश गरिने छैन ।

नयाँ सूचकांकले हालको नेप्से परिसूचकको एउटा प्रमुख सीमिततालाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ । हालको नेप्से परिसूचकले नियमित कारोबारका लागि उपलब्ध नभएका शेयरसमेत समेटेर कम्पनीको कुल बजार पुँजीकरणका आधारमा सूचकांक गणना गर्दै आएको छ ।

यसका कारण संस्थापक वा सरकारको ठूलो शेयर स्वामित्व रहेका कम्पनीले बजारमा कारोबारका लागि उपलब्ध शेयरको हिस्सा तुलनात्मक रूपमा कम भए पनि सूचकांकमा बढी प्रभाव पार्ने गरेका छन् ।

एनबीआईमा भने सार्वजनिक कारोबारका लागि उपलब्ध शेयरको संख्याका आधारमा कम्पनीहरूलाई फरक–फरक भार प्रदान गरिनेछ । यसअनुसार बजार पुँजीकरण ठूलो भए पनि कारोबारयोग्य शेयरको हिस्सा कम भएका कम्पनीको नयाँ सूचकांकमा भार कम हुन सक्नेछ । त्यस्तै, सार्वजनिक कारोबारका लागि उपलब्ध शेयरको अनुपात बढी भएका कम्पनीको प्रभाव भने तुलनात्मक रूपमा बढी हुनेछ ।

नयाँ एनबीआई सञ्चालनमा आए पनि हालको नेप्से परिसूचकलाई प्रतिस्थापन गरिने छैन । हालको सूचकांकलाई ‘नेप्से अल इक्विटी इन्डेक्स’ नामकरण गरी सबै सूचीकृत शेयरको समग्र प्रदर्शन मापन गर्ने सूचकांकका रूपमा कायम राखिनेछ । नयाँ एनबीआईले भने कारोबारका लागि उपलब्ध शेयरको प्रदर्शनलाई प्रतिनिधित्व गर्ने बेन्चमार्कका रूपमा काम गर्नेछ ।

नयाँ सूचकांकले नेपालमा इन्डेक्समा आधारित म्युचुअल फन्ड, एक्सचेन्ज ट्रेडेड फन्ड (ईटीएफ) तथा अन्य लगानीका वित्तीय उत्पादन विकास गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यसले संस्थागत तथा विदेशी लगानीकर्तालाई बजारको वास्तविक अवस्था मापन गर्न थप प्रभावकारी आधार प्रदान गर्नुका साथै नेपालको पुँजी बजारलाई थप सुदृढ बनाउन सहयोग गर्ने विश्वास गरिएको छ ।

लगानीकर्ताका लागि भने नयाँ एनबीआई र हालको नेप्से परिसूचक सधैँ एउटै दिशामा चल्नुपर्छ भन्ने छैन । दुवै सूचकांकको गणना विधि फरक हुने भएकाले सार्वजनिक कारोबारका लागि बढी शेयर उपलब्ध भएका कम्पनीको मूल्य परिवर्तनले एनबीआईमा बढी प्रभाव पार्न सक्छ । त्यसैगरी, ठूलो शेयर स्वामित्व भए पनि कारोबारमा प्रतिबन्धित वा उपलब्ध नभएका शेयर रहेका कम्पनीको प्रभाव नयाँ सूचकांकमा कम हुनेछ ।

यससँगै हाल प्रचलनमा रहेको नेप्से परिसूचकको नाम परिवर्तन गरी ‘नेप्से अल इक्विटी इन्डेक्स’ राखिनेछ भने नयाँ सूचकांकले कारोबारयोग्य शेयरको आधारमा बजारको प्रदर्शन मापन गर्नेछ ।