नेपाल पुनर्बीमाले १६.९२ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव
वि.सं.२०८३ मंसिर ११ शुक्रवार ११:१५
shares

काठमाडौं, ११ मंसिर । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्नो चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुर्याउने उद्देश्यसहित १६.९१७६ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव अघि सारेको छ ।
कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १६.९१७६ प्रतिशत बराबरको हकप्रद शेयर जारी गर्ने प्रस्ताव आगामी वार्षिक साधारणसभामा स्वीकृतिका लागि पेस गर्ने निर्णय गरेको हो ।
कम्पनीमा नेपाल सरकारको हाल कायम ४४.०३९० प्रतिशत स्वामित्व कायम राख्दै चुक्ता पुँजी वृद्धि गर्ने उद्देश्यले उक्त प्रस्ताव अघि बढाइएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार नेपाल सरकारसँग भएको पुँजी वृद्धि सम्बन्धी सहमतिका आधारमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव तयार गरिएको हो । उक्त व्यवस्थाअनुसार चालु आर्थिक वर्षमा प्रस्तावित हकप्रद शेयरमार्फत नेपाल सरकारले १ अर्ब रुपैयाँ लगानी गर्ने अपेक्षा गरिएको छ ।
सरकारले गर्ने प्रतिबद्धताअनुसारको लगानीलाई आधार मानेर हकप्रद शेयर जारी गरिनेछ । यसको मुख्य उद्देश्य कम्पनीको कुल चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुर्याउनु रहेको छ ।
प्रस्तावित हकप्रद शेयर निष्कासनका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित हुनुपर्नेछ ।
आवश्यक नियामकीय स्वीकृति तथा साधारणसभाबाट शेयरधनीको अनुमोदन प्राप्त भएपछि मात्रै कम्पनीले हकप्रद शेयर निष्कासन प्रक्रिया अघि बढाउनेछ ।
पुँजी विस्तारबाट नेपाल पुनर्बीमा कम्पनीको पुँजीगत आधार थप मजबुत हुने र पुनर्बीमा व्यवसाय सञ्चालन तथा विस्तार गर्ने क्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।

















