इप्पानले मनाउँदै इप्पान रजत जयन्ती २०८१
वि.सं.२०८१ पुस ४ बिहीवार १४:१२
shares

काठमाडौं, ४ पुस । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले आफ्नो २५ औ वार्षिकोत्सबको अवसरमा विशेष कार्यकम सहित इप्पान रजत जयन्ती, २०८१ कि इतनी पस्पोरेटी भन्ने नारासहित मनाउने भएको छ ।
लगानीको हिसाबले नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संस्था इप्पानको यो २५ वर्षे यात्रालाई विशेष स्मरण गराउँदै यस अवधिमा भएका उपलब्धी र प्रगतिहरुलाई प्रस्तुत गर्नको लागि विशेष कार्यकमसहित इप्पानको रजत जयन्ती मनाउने भएको हो ।
देशव्यापी रुपमा विद्युत उत्पादनसँगै विकास निर्माणका कार्यमा महत्वपूर्ण योगदान पुऱ्याएको निजी क्षेत्रको छाता संस्थाको हैसियतमा इप्पानले आफ्नो २५ औं वार्षिकोत्सव इप्पान रजत जयन्ती, २०८१ यही माघ ४ गते मेरियट होटल काठमाडौंमा भव्य रुपमा मनाउने भएको हो ।
रजत जयन्तीको अवसर पारेर इप्पानको २५ वर्षको यात्रा समेटिएको ऊर्जा समृद्धि विशेष स्मारिका प्रकाशन र विभिन्न अतिरिक्त क्रियाकलापहरु पनि आयोजना गर्न लागेको जनाएको छ ।
वि.स. २०५७ साल माघ ४ गते स्थापना भएको इप्पानले विभिन्न आरोह अवरोह पार गर्दै नेपालको ऊर्जा विकासका लागि महत्वपूर्ण २५ वर्ष समर्पीत गरेको जनाएको छ । संस्थाको अनुसार देशलाई लोडसेडिङ मुक्त गरी बुद विद्युत निर्यातकर्ता मुलुक बनाउनमा इप्पानको महत्वपूर्ण योगदान रहेको जनाएको छ।
देशको कुल विद्युत जडित क्षमता करिब ३३०० मेगावाट पुग्दा निजी क्षेत्रको सहभागीतामा मात्रै २६०० मेगावाट अर्थात कुल जडित क्षमताको करिव ८० प्रतिशत विद्युत उत्पादन हुनुका साथै करिव ४१०० मेगावाट क्षमताका आयोजनाहरु निर्माणाधीन र ४३०० मेगावाट क्षमताका आयोजनाहरु विद्युत खरिद विक्री सम्झौता (पीपीए) सम्पन्न गरी वित्तिय व्यवस्थापनको पर्खाइमा रहेका छन् ।
त्यस्तै १२ हजार ५०० मेगावाट क्षमताका आयोजनाहरु पीपीएको पर्खाइमा रहेका छन् भने त्यतिनै क्षमताका आयोजनाहरु अध्ययनको विभभिन्न चरणमा रहेको जनाएको छ । यी आयोजनाहरुको अध्ययन देखि निर्माणसम्मका विभिन्न चरणमा निजी क्षेत्रको अगुवाइमा १५ खर्ब रुपैयाभन्दा बढी लगानी भइसकेको छ भने सरकारलाई वार्षिक खबौं रुपैयां रोयल्टी तिर्दै अर्थतन्त्रमा उल्लेखनीय योगदान पनि पुऱ्याइरहेको जनाएको छ ।
गाउँगाउँमा बाटोघाटो, पुलपुलेसा पुऱ्याउँदै स्थानीयस्तरमा शिक्षा, स्वास्थ्य र पूर्वाधारमा ठूलो रकम सामाजिक उत्तरदायित्व अन्तर्गत निजी क्षेत्रले खर्च गरिसकेको जनाएको छ ।
प्रधानमन्त्री, ऊर्जामन्त्री, अर्थमन्त्री लगायतका विशिष्ठ व्यक्तित्वहरुको उपस्थितीमा आयोजना गर्न लागिएको रजत जयन्तीमा तीनवटा प्राविधिक सत्रहरु आयोजना गर्न गइरहेको जनाएको छ ।
सो सेसनमा ऊर्जाका स्थानीयदेखि संघीयसम्मका समस्या, चुनौती, अवसर, ऊर्जा क्षेत्रको आगामी मार्गचित्र, ऊर्जा नीतिहरु, तथा ऊर्जा आयोजनाले सामाजिक तथा आर्थिक क्षेत्रमा पुर्याएको योगदानबारे प्राविधिक सत्रमा मन्धन हुने जनाएको छ ।
त्यस्तै रजत जयन्तीको पूर्व सन्ध्यामा विभिन्न खेलकुद कार्यक्रमहरु आयोजना गरिनेछन् । जसमा फुटसल तथा व्याडमिन्टन प्रतियोगिता, रक्तदान कार्यक्रम, इभी च्याली, निबन्ध लेखन प्रतियोगिता, छोटो वृत्तचित्र निर्माण प्रतियोगिता र फोटो प्रतियोगिता आयोजना गरिने जनाएको छ ।
फुटसल तथा व्याडमिन्टन प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने टोलीलाई क्रमशः ३०,२० र १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ। यसको लागि टिम दर्ता खुला भइसकेको र प्रतियोगिता यहि पुस २६ र २७ गते हुने बताइएको छ ।
यसैगरी निबना लेखन प्रतियोगिताका लागि निबन्धहरु माग भइसकेको र पुस १५ गतेसम्म प्राप्त निबन्धहरु मध्ये उत्कृष्ट १० वटा निबन्धहरुलाई पुस २० गते प्रस्तुतीकरण गर्न लगाइने जनाएको छ । प्रस्तुतीकरणमा पहिलो, दोस्रो र तेस्रो हुने निबन्धले कमशः ५०, २५ र १५ हजार रुपैयाँ पुरस्कार राखिएको जानकारी गराइएको छ ।
त्यस्तै छोटो वृत्तचित्र र फोटो प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने व्यक्ति कम्पनीलाई कमशः ३०,२० र १० हजार रुपैयाँ पुरस्कार राखिएको छ। यसको लागि पनि प्रस्ताव आह्वान भइसकेको र पुस १५ गतेसम्म फोटो भिडियो पठाइसक्नुपर्ने छ। फोटो भिडियो प्रतियोगिताको सहआयोजकको रुपमा पीजे क्लव रहेको छ । सबै प्रतियोगिताको विजेता उपविजेता विषय विज्ञसहितको निर्णायक समितिमार्फत चयन गरिने छ । त्यस्तै पूर्व सन्ध्यामा हुने अन्य कार्यकमहरुमा माघ २ गते रक्तदान र माघ ३ गते ईभी यली आयोजना हुने पनि बताइएको छ ।

















