Dhulikhel Eco Banner new

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा “डाटासँगै जीवन बीमा” सेवा सुरु

1.64K
shares

काठमाडौं, २० कार्तिक । नेपालमा पहिलोपटक एनसेल र मेटलाइफ नेपालको साझेदारीमा “डाटासँगै जीवन बीमा” नामक नवीन योजना सुरु भएको छ। यस सेवामार्फत ग्राहकहरूले मोबाइल डेटा प्रयोगसँगै जीवन र घातक रोग बीमा सुविधा पनि प्राप्त गर्न सक्नेछन्।

यो योजना अन्तर्गत ग्राहकहरूले दुई विशेष प्याकेजमध्ये कुनै एक रोजेर बीमा लाभ लिन सक्नेछन्। पहिलो प्याकेज करसहित रु। ९९ मा उपलब्ध छ, जसमा ३ दिनको लागि १०० एमबी डेटा, रु। २,००,००० बराबरको म्यादी जीवन बीमा र रु। २,००,००० बराबरको घातक रोग बीमा उपलब्ध छ। बीमा सुविधा प्याक खरिद भएको मितिबाट ३० दिनसम्म मान्य हुनेछ।

दोस्रो प्याकेज रु। ३९ मा उपलब्ध छ, जसमा ३ दिनका लागि १०० एमबी डेटा, रु ५०,००० बराबरको म्यादी जीवन बीमा र रु. ५०,००० बराबरको घातक रोग बीमा समावेश छ। यस बीमा सुविधा पनि प्याक खरिद मितिबाट ३० दिनसम्म मान्य हुनेछ।

ग्राहकहरूले एनसेल एपमार्फत आफूलाई मनपर्ने प्याक छान्न सक्छन् र बीमाका लागि फाराम भरेर सजिलै सुविधा लिन सक्नेछन्। प्याक खरिदपछि टर्म लाइफ इन्स्योरेन्स तुरुन्तै सुरु हुन्छ भने क्रिटिकल इलनेस (गम्भीर रोग) कभरेज ३० दिनको प्रतिक्षापछि सक्रिय हुन्छ।

एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने, “मेटलाइफ नेपालसँग साझेदारी गर्दै देशभरका ग्राहकहरूलाई बीमा सुरक्षा सहितको सेवा दिन पाउँदा हामी अत्यन्तै खुशी छौं। यो सहकार्यले नेपालको दुर्गम क्षेत्रसम्म बीमा पहुँच पुर्याउने सामाजिक प्रतिबद्धता बोकेको छ।”

मेटलाइफ नेपालका प्रमुख वितरण अधिकृत अरुण बहादुर बस्नेतले भने, “सुरक्षा सबैको अधिकार हो, सुविधा होइन। यो साझेदारीको उद्देश्य छोटो अवधिको डेटा खरिद मार्फत दीर्घकालीन मानसिक शान्ति र सुरक्षा प्रदान गर्नु हो।”

एनसेल सन् २००४ मा स्थापना भएको नेपालको पहिलो निजी मोबाइल सेवा प्रदायक कम्पनी हो। कम्पनीले २००५ देखि सेवा प्रदान गर्दै आइरहेको छ र डिजिटल सेवाहरू मार्फत आम नेपालीलाई जोड्ने काम गर्दै आएको छ।

मेटलाइफ नेपाल सन् २००१ देखि नेपालमा संचालनमा छ र जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा, सामूहिक बीमा लगायत विभिन्न बीमा योजना उपलब्ध गराउँदै आएको छ। साझेदारीले डिजिटल सेवामा सहज पहुँचसहित सामाजिक सुरक्षा र वित्तीय समावेशिता बढाउने महत्वपूर्ण कदमको रूपमा मूल्याङ्कन गरिएको छ।