Dhulikhel Eco Banner new

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बीमा’ योजना सुरु

3.46K
shares

काठमाडौं, २० कात्तिक । एनसेल र मेटलाइफ नेपालको साझेदारीमा नेपालमै पहिलोपटक मोबाइल डेटा प्याकसँगै बीमा सुविधा उपलब्ध गराउने नयाँ योजना ‘डाटासँगै जीवन बीमा’ सार्वजनिक गरिएको छ। यो योजनाअन्तर्गत एनसेलका ग्राहकहरूले मोबाइल डेटासँगै जीवन बीमा र घातक रोग बीमाको सुविधा एकैपटक प्राप्त गर्न सक्नेछन्।

कम्पनीले दुई प्रकारका प्याकेज सार्वजनिक गरेको छ। पहिलो प्याकमा करसहित रु। ९९ तिर्ने ग्राहकले ३ दिनका लागि १०० एमबी डेटा, साथै रु। २ लाख बराबरको म्यादी जीवन बीमा र रु. २ लाख बराबरको घातक रोग बीमा पाउनेछन्। दोस्रो प्याकमा रु। ३९ मा ३ दिनका लागि १०० एमबी डेटा, साथै रु। ५० हजार बराबरको म्यादी जीवन बीमा र रु। ५० हजार बराबरको घातक रोग बीमा समावेश छ।

यी बीमा सुविधाहरू प्याक खरिद गरेको मितिबाट ३० दिनसम्म मान्य रहनेछन्। ग्राहकहरूले यी प्याक एनसेल एपमार्फत  डायल गरेर सजिलै खरिद गर्न सक्नेछन्। टर्म लाइफ इन्स्योरेन्स प्याक खरिदपछि तुरुन्तै सक्रिय हुन्छ भने क्रिटिकल इलनेस गम्भीर रोग कभरेज ३० दिनको प्रतीक्षा अवधिपछि सुरु हुने कम्पनीले जनाएको छ।

एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपङ्ग दत्तले मेटलाइफसँगको सहकार्यलाई सामाजिक उत्तरदायित्व र बीमा पहुँच विस्तारतर्फको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरे। उनले भने, “यो सहकार्यले देशभरका ग्राहकहरूलाई बीमा पहुँच विस्तार गर्ने सामाजिक प्रतिबद्धता बोकेको छ। हाम्रो लक्ष्य ग्राहकको जीवनमा सकारात्मकता र सुरक्षाको अनुभूति दिनु हो।”

त्यस्तै, मेटलाइफ नेपालका प्रमुख वितरण अधिकृत अरुण बहादुर बस्नेतले भने, “सुरक्षा सबैको अधिकार हो, सुविधा होइन भन्ने हाम्रो विश्वास हो। सानो र छोटो अवधिको डेटा खरिदबाट जीवन र परिवारलाई मानसिक शान्ति प्रदान गर्नु नै यो योजनाको उद्देश्य हो।”

यो साझेदारीले विशेष गरी ग्रामीण र दुर्गम क्षेत्रका ग्राहकहरूलाई सुलभ दरमा बीमा सेवामा पहुँच दिलाउने उद्देश्य राखेको छ। डिजिटल माध्यममार्फत बीमा प्रक्रिया पुरा गर्न सकिने भएकाले यो योजना वित्तीय समावेशिता र सामाजिक सुरक्षातर्फको नयाँ अध्याय मानिएको छ।

एनसेल सन् २००५ देखि सेवा प्रदान गर्दै आएको नेपालकै पहिलो निजी मोबाइल सेवा प्रदायक हो। कम्पनीले हालसम्म कर तथा शुल्कका रूपमा सरकारलाई ३६० अर्ब रुपैयाँभन्दा बढी योगदान दिएको छ भने एनसेल फाउन्डेसनमार्फत २ अर्ब रुपैयाँभन्दा बढी सामाजिक परियोजनामा लगानी गरेको जनाएको छ।

मेटलाइफ नेपाल सन् २००१ देखि नेपालमा क्रियाशील बीमा कम्पनी हो, जसले जीवन बीमा, दुर्घटना बीमा र स्वास्थ्य बीमासहितका सेवाहरू प्रदान गर्दै आएको छ।

यस नयाँ योजनाले प्रविधि, बीमा र सामाजिक सुरक्षाको समायोजनमार्फत नेपालमा वित्तीय पहुँच र उपभोक्ता सुरक्षाको नयाँ युगको सुरुवात गरेको विश्लेषण गरिएको छ।