Dhulikhel Eco Banner new

नेपालको पहिलो फुड डेलिभरी कम्पनीको १५औँ वार्षिकोत्सव सम्पन्न

2.05K
shares

काठमाडौं, २६ कात्तिक । नेपालको पहिलो अनलाइन फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्नो १५औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। सन् २०१० नोभेम्बर ११ मा सानो स्टार्टअपका रूपमा सुरु गरिएको फुडमाण्डुले आज १५ वर्षको यात्रामा उल्लेखनीय सफलता हासिल गर्दै देशकै अग्रणी फुड डेलिभरी ब्रान्डका रूपमा आफूलाई स्थापित गरेको छ।

कम्पनीले हाल काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, चितवन र बुटवलमा हजारौं रेस्टुरेन्टहरूसँग साझेदारी गर्दै ग्राहकहरूलाई मनपर्ने परिकार घरमै पाउने सुविधा उपलब्ध गराउँदै आएको छ। वार्षिकोत्सवको अवसरमा फुडमाण्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले १५ वर्षको सफल यात्राप्रति गर्व व्यक्त गर्दै कम्पनीको सफलता ग्राहक, रेस्टुरेन्ट पार्टनर र समर्पित राइडरहरूको सहयोगकै परिणाम भएको बताए।

उनले फुडमाण्डुले ग्राहकको खाना अर्डर गर्ने तरिका मात्र बदलेको नभई रेस्टुरेन्ट व्यवसाय विस्तारमा पनि महत्वपूर्ण योगदान पुर्‍याएको बताए। कम्पनीले आगामी दिनमा अझ बढी रेस्टुरेन्टहरू जोड्ने, भरपर्दो र छिटो सेवा दिने तथा नेपालीदेखि अन्तर्राष्ट्रिय स्वादसम्मका विविध परिकार उपलब्ध गराउने लक्ष्य राखेको छ। त्यस्तै, फुडमाण्डुकी ब्रान्ड तथा मार्केटिङ म्यानेजर इनेशा भट्टराईले १५ वर्षको यात्रा अविस्मरणीय रहेको बताउँदै “हामी पहिलो दिनजस्तै उत्साहका साथ ‘खानासँगै खुसी’ डेलिभरी गर्ने हाम्रो प्रतिबद्धता यथावत छ,” भनिन्।

वार्षिकोत्सवको अवसरमा कम्पनीले कात्तिक २५ देखि मंसिर १४ गतेसम्म विशेष अफर ल्याएको छ, जसअन्तर्गत काठमाडौं, पोखरा, चितवन र बुटवलका २०० भन्दा बढी रेस्टुरेन्टहरूमा विभिन्न परिकारमा छुट उपलब्ध हुनेछ। हाल फुडमाण्डुले १,००० भन्दा बढी रेस्टुरेन्टमार्फत सेवा प्रदान गर्दै फुडमाण्डु वनमार्ट मार्फत दैनिक उपभोग्य वस्तुहरूको तत्काल डेलिभरी सेवा पनि सञ्चालन गर्दै आएको छ।