Dhulikhel Eco Banner new

बसन्त चौधरीको पहिलो बालकविता संग्रह सार्वजनिक

7.11K
shares

काठमाडौं, २६ चैत । ‘प्रेमिल कवि’को छवि बनाएका चर्चित कवि तथा गीतकार बसन्त चौधरीले आफ्नी नातिनी आहाना शाक्य(चौधरी)को जन्मदिनको दिन पारेर बाल कविता संग्रह ‘आहाना’ सार्वजनिक गरेका छन् । आइतबार ललितपुरको खुमलटारस्थित प्रिमियमर इन्टरनेशनल स्कूलको सभाहलमा आयोजित एक समारोहकाबीच कवि चौधरीले लेखेको बाल कविता संग्रह ‘आहाना’ विमोचन गरिएको हो ।

कवि चौधरीले आफ्नो साहित्यिक जीवनकै पहिलो बाल कविता संग्रह प्रकाशन गरेका हुन् । यसअघि उनका २० वटाभन्दा बढी कविता तथा गीतहरुका संग्रह प्रकाशित भइसकेका छन् । चौधरी दर्जनौं चर्चित नेपाली गीतहरुका उनी सर्जक समेत हुन् । कवि चौधरी, उनी पुत्री मेघा चौधरी, नातिनी आहाना शाक्य(चौधरी) तथा आहानाका पिता पारस शाक्य र बालबालिकाहरुले बालकविता संग्रह ‘आहाना’को सामूहिक लोकार्पण गरेका थिए ।

आकर्षक साजसज्जासहितको रंगीन कलेवरमा प्रकाशन गरिएको बाल कविता संग्रह नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध छ । ‘कोपिला किताब’ले प्रकाशन गरेको आहानामा चौधरीका ५६ वटा बालकविताहरु समेटिएका छन् । प्रत्येक कवितासँगै कलाकार भानु भट्टराईले तयार पारेको आकर्षक चित्रांकन समेत समेटिएकाले बालकविता संग्रह निकै आकर्षक छ ।

कविता संग्रह विमोचन समारोहमा बोल्दै कवि बसन्त चौधरीले आफू निकै खुशी भएको बताएका छन् । ‘यस्तो लागिरहेछ कि बसन्तको आगमन फेरि भएको छ । मन प्रफूल्लित छ,’ उनले भने । उनले आफ्नी नातिनीलाई सानैदेखि हेरेको र उनको उमेर बढेसँगै आफूले देखेको, भोगेका र नातिनीसँग बिताएका क्षण तथा नातिनीजस्तै भएर लेखिएका कविताहरुलाई संग्रहको रुप दिएको बताए । कविता संग्रह आहाना आफ्नी नातिनीको प्रतिबिम्ब समेत भएको उनको भनाइ थियो ।

उनले बालसाहित्यको महत्वको विषयमा समेत आफ्ना धारणा राखेका थिए । ‘बाल साहित्य मेरो नियमित विधा होइन । यो मेरो पहिलो प्रयास हो,’ उनले भने, ‘मैले विभिन्न देशको भ्रमण गर्दा त्यहाँ बाल साहित्यले हासिल गरेको उचाई देख्दा डाह लाग्थ्यो । नेपालमा के कारणले बाल साहित्य पछाडि परेको छ, त्यो बुझ्न सकिरहेको छैन ।’

कवि चौधरीले बाल साहित्यले नेपालमा उचाई हासिल नगरे पनि बाल साहित्यको विषयमा संस्थागत कामहरु भएका भन्दै त्यस्तो काम गर्ने सबै सर्जकप्रति आभार व्यक्त गरे । ‘लगानी गरेर बालसाहित्य वा कृति प्रकाशन गर्दा रिटर्न आउँदैन,’ उनले भने ‘तर बाल साहित्यलाई व्यापार भन्दा पनि एउटा आन्दोलनको रुपमा लिनुपर्छ ।’

बालबालिकालाई रचनात्मक कुराहरु कविता र गीतबाट सिकाउन सकिए त्यसले निकै ठूलो परिवर्तन गर्ने र बाल मानसपटलमा सिर्जनात्मक कुराहरुको बास हुने उल्लेख गर्दै विश्वभर शिक्षामा परिवर्तन भइरहँदा नेपालमा पनि हुनुपर्ने र सिकाईको माध्यमको रुपमा कविता र गीतहरुलाई पनि समावेश गरिनुपर्नेमा उनको जोड छ ।

कार्यक्रममा बोल्दै स्कूलकी डाइरेक्टर पवित्रा लिम्बूले कवि बसन्त चौधरीले आफ्नी नातिनीलाई जन्मदिनको दिन विशेष गिफ्ट दिएका बताइन् । ‘हजूरबुबाबाट यस्तो गिफ्ट आयो कि सबैलाई बाँड्न मिल्ने ! अब आजदेखि बसन्त चौधरी आहानाको मात्र होइन, देशभरका बालबालिकाहरुको पनि हजूरबुबा बन्नुभयो,’ उनले भनिन् । चौधरीले नेपालको बालसाहित्यको उन्नयनका लागि निकै ठूलो गिफ्ट गरेको समेत उनको भनाइ थियो ।